बाढीपहिरोले थाहा नगरका खानेपानीमा डेढ करोडको क्षति

बाइलाइन नेपाल
२२ आश्विन २०८१, मंगलवार ०५:५०

हेटौंडा । असोज ११ र १२ गतेको अविरलका वर्षाका कारण आएका बाढीपहिरोले मकवानपुरको थाहा नगरपालिकाका २६ वटा खानेपानी आयोजना क्षतिग्रस्त भएको छ ।

वर्षाका कारण आएको बाढीपहरोले खानेपानीका १८ वटा इन्टेकमा र २४ वटा खानेपानी रिजर्भ ट्याङ्कीमा क्षति पुगेको नगरपालिकाले तयार गरेको प्रारम्भिक क्षतिको तथ्याङ्कमा उल्लेख छ । विभिन्न साइजका गरी १६ हजार १७० मिटर पोलिथिन पाइप बाढीले बगाउनुको साथै फुटाएको छ ।

एक हजार ३ सय २४ मिटर जीआई पाइपमा क्षति भएको पालिकाले जनाएको छ । दुई दिनको बाढीपहिरोले करिब १ करोड ६३ लाख रुपैयाँ बराबरको क्षति भएको थाहा नगरपालिकाका मेयर विष्णु विष्टले बताए ।

नगरपालिकाको प्रारम्भिक तथ्याङ्क अनुसार इन्टेकहरुमा भएको क्षति करिब ९ लाख रुपैयाँको छ भने रिजर्भ ट्याङ्कीहरुको क्षति मूल्याङ्कन १ करोड ३१ लाख ७५ हजार रुपैयाँको रहेको छ । त्यसैगरी पोलिथिन पाइप २० लाख १७ हजार ४ सय ५१ र जीआई पाइपको क्षति मूल्याङ्कन २ लाख १० हजार ४६६ रुपैयाँ रहेको नगरपालिकाका सवइन्जिनियर सीताराम ढकालले जानकारी दिए ।

नगरपालिकाको १२ वटै वडाहरुबाट तथ्याङ्क संकलन गरी पालिकामा एकीकृत गरी क्षतिको मूल्याङ्कन गरिएको थाहा नगरपालिकाका सूचना अधिकारी सुरज कुमार भुजेलले जानकारी दिए । सूचना अधिकारी भुजेलका अनुसार खानेपानी आयोजनामा भएको क्षति पुनर्निर्माणका लागि पालिकासँग बजेट अभाव भएका कारण खानेपानी डिभिजन, मन्त्रालय तथा विभागहरुमा अनुरोध गरी पठाइएको छ । क्षतिको पुनर्निर्माणका लागि पालिकाले सरकारी तथा गैर सरकारी निकायसँग आग्रह गरेको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*