पालुुङको जनकल्याणमा बहुमतको दम्भ, जनप्रतिनिधि नै बाईपास
थाहानगर । थाहा नगरपालिका–३ मा रहेको थाहा नगरकै प्रतिष्ठित विद्यालय जनकल्याण माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः राजीव कुमार स्याङ्तान चयन भएका छन् । २३ कात्तिकमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि भएको बैठकले स्याङ्तानलाई पुनः तीन वर्षको लागि अध्यक्ष पदमा चयन गरेको हो । यो सँगै स्याङ्तान लगातार चौंथो कार्यकाल विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा भएका छन् ।
विद्यालय व्यवस्थापन समितिको अवधि सकिएपछि शिक्षा नियमावली अनुसार गत जेठ २६ गते आयोजना गरिएको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिमा आवश्यक २ जना महिलासहित ४ जनाको लागि २ जना महिला र ४ जना पुरुष उम्मेद्वारी परेपछि सहमतिको लागि अभिभावक भेला स्थगित गरिएको थियो ।
जेठ २६ को अभिभावक भेला स्थगित गरी पुनः असोज २२ गते डाकिएको अभिभावक भेलामा जम्मा २३ जना मात्रै अभिभावकको उपस्थिति भएपछि कात्तिक १५ गते व्यवस्थापन समिति चयनको लागि अभिभावक भेला बोलाउने सहमति पश्चात कात्तिक १५ गते अभिभावक भेलाको आयोजना गरी नयाँ प्रक्रियामा विद्यालय व्यवस्थापन समितिको लागि २ जना महिला र २ जना पुरुष सदस्य छनोट गरेको थियो । जस अनुसार राजकुमार पन्त, मेनुका आचार्य, लक्ष्मी विश्वकर्मा, रवि विष्ट चयन भएका थिए ।
उक्त समितिको कात्तिक १७ गते बसेको पहिलो बैठकले शिक्षा नियमावली अनुसार विद्यालय व्यवस्थापन समितिको सदस्यमा सोहि विद्यालयमा २०६९ सालदेखि अध्यक्ष रहनुभएका हालका निवर्तमान अध्यक्ष राजिव कुमार स्याङ्तान र प्रमिला कार्कीलाई मनोनित गरेको थियो ।
शिक्षा नियमावली अनुसार विद्यालयका प्रधानाध्यापक पदेन सदस्य सचिव हुने र विद्यालयका शिक्षकहरु मध्येबाट एकजना शिक्षक प्रतिनिधि रहने प्रावधान हुन्छ ।
प्राविधिक विषय अध्यापन हुने विद्यालय व्यवस्थापन समितिमा दुई जना मनोनित गर्न पाउने कानूनी प्रावधान अनुरुप बैठकले निरोज प्रधान र सुवासचन्द्र विष्टलाई मनोनित गरेको छ । प्राविधिकतर्फ कृषि बाली विज्ञान बिषय समेत अध्यापन हुने विद्यालयको व्यवस्थापन समितिमा उद्योग वाणिज्य संघको प्रतिनिधित्व हुनेगरी उद्योग वाणिज्य संघ बागमती प्रदेशका कृषि समिति सदस्य प्रधान र विद्यालयका विद्यार्थीहरुको शैक्षिक क्षेत्रमा सहयोग पु¥याउँदै आएका सहयोगी शिक्षाप्रेमीका हैसियतले विष्टलाई मनोनित गरेको विद्यालयले जनाएको छ ।
शिक्षा नियमावलीमा अभिभावक मध्येबाट छानिएका दुई महिलासहित ४ जना, सम्वन्धित वडाको वडा अध्यक्ष वा वडा समितिले सिफारिस गरेको एकजना, शिक्षाप्रेमी, चन्दादाताहरु मध्येबाट एक महिलासहित दुई जना, शिक्षक प्रतिनिधि र प्राधानाध्यापक सहितको बैठकले अध्यक्ष चयन गर्ने प्रक्रिया हुनेमा वडा अध्यक्षको उपस्थिति बिनानै व्यवस्थपन समिति गठन गरिएको छ ।
यी सबै प्रक्रियामा सम्वन्धित वडाको वडा अध्यक्ष वा वडा समितिले सिफारिस गरेको एकजना अनिवार्य हुनुपर्ने व्यवस्थालाई बेवास्ता गरिएको आरोप लागेको छ ।थाहा नगरपालिका–३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझीले विद्यालय व्यवस्थापन समिति चयन बारे कुनै जानकारी नभएको बताउनुहुन्छ ।
अध्यक्ष रायमाझीले कात्तिक २३ गते बैठक सुरु हुने समयमा बोलाईएको र आफ्नो अन्यत्र कार्यक्रम भएको कारण उपस्थित हुन नसकेको बताउनुभयो । वडा अध्यक्ष रायमाझीले विद्यालय व्यवस्थापन समिति चयन गर्ने अन्य प्रक्रियाको बारेमा आफुलाई जनकारी नभएको बताउनुभयो ।
थाहा नगरपालिकाको शिक्षा अधिकारी माधव बिक्रम मल्ल आफु अभिभावक भेलाको दिन उपस्थित भएको र उक्त विद्यालय व्यवस्थापन समित गठनको अन्य गतिविधि प्रक्रियाको बारेमा थप जानकारी नभएको बताउनुहुन्छ । उहाँले विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा सम्वन्धित वडाको जनप्रतिनिधिको उपस्थिति अनिवार्य हुनपर्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा वडा अध्यक्षलाई फोनमार्फत् जानकारी गराईएको र हरेक पद्दतिमा बहुमतको निर्णय कार्यान्वयन हुने हुँदा वडा अध्यक्ष उपस्थित नहुँदा विधिले फरक नपर्ने जनकल्याण माविका प्रधानाध्यापक सानोभाई कार्कीले बताउनुभयो ।
विद्यालयले स्थानीय सरकारलाई नै बाईपास गरेर समिति चयन गरेपछि अहिले विवाद सुरु भएको छ । बहुमतको आडमा स्थानीय सरकार, जनप्रतिनिधिलाई नै बाहिर राखेर विद्यालय प्रशासनले गरेको कामको अहिले चौतर्फी आलोचना सुरु भएको छ ।
साधारण तर्फ बालविकास केन्द्रदेखि कक्षा १२ सम्म, प्राबिधिकतर्फ कक्षा ९ देखि १२ सम्म बाली बिज्ञान र सीटीईभीटी अन्तरगतको ३ बर्षे डिप्लोमा इनप्लान्ट साईन्स अध्ययन अध्यापन भईरहेको छ ।