थाहाको दुईसय घरमा खानेपानी पुर्याउन श्रमदान

राजकुमार केसी
२२ कार्तिक २०८०, बुधबार १२:२४

थाहानगर । थाहा नगरपालिका वडा नम्बर १२ मा लिती रहेको दुईसय भन्दा बढी घरधुरीमा स्वच्छ खानेपानी पुर्याउन मंगलबार खानेपानी आयोजनाको रिजर्भ ट्यांकीको शिलान्यास गरिएको छ ।

उक्त खानेपानी आयोजनाको लागि थाहा नगरपालिकाको बिकास साझेदारको रुपमा रहेको संस्था च्वाईस नेपालले १ करोड लगानी गर्ने भएको छ ।

कूल २ करोड ५९ लाख ९० हजार ५ सय ८ रुपियाँ लागत अनुमान गरिएको खानेपानी आयोजनाको लागि १ करोड बराबरको श्रमदान हुनेछ भने थाहा नगरपालिकाले ६० लाख लगानी गर्नेछ ।

थाहा नगरपालिका वडा नम्बर १२ को नागदह, ब्लेटोल, गौराइटोल, नयाँघर टोल, लगायतका गाउँलाई लक्षित गरी खानेपानी आयोजना निर्माण शुरु भएको हो ।

१८ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको खानेपानी आयोजना सम्पन्न भएपश्चात २ सय भन्दा बढि परिवार लाभान्वित हुने खानेपानी उपभोक्ता समितिका अध्यक्ष हिरामान घलानले बताए ।

गुणस्तरीय खानेपानीको अभावमा रहेका उक्त क्षेत्रका बासिन्दाहरुलाई नगरपालिकाको ‘एक घर, एक धारा’ नीति अनुसार खानेपानी आपूर्तिको लागि सहज हुने च्वाईस नेपालका कुल प्रसाद तिवारीले बताए ।

आयोजनाको रिजर्भ ट्यांकीमा करिब २ किलोमिटर टाढाको घट्टेखोला र मेल खोला मुहानबाट पाईपलाईन मार्फत पानी ल्याइ बितरण गरिने च्वाईस नेपालका प्रताप घिमिरेले बताए ।

यसअघि एउटै धाराबाट धेरै परिवारले पानी थाप्नुपर्ने बाध्यता रहेको सो क्षेत्रमा आयोजना सम्पन्न भएपश्चात् घरमै खानेपानी आपूर्ति हुने भएकोले उपभोक्ताहरु खुसी भएको थाहा १२ का वडा अध्यक्ष टीकाराम स्याङतानले बताए । स्याङ्तानले खानेपानी आयोजनाको लागि सहयोग गर्ने च्वाईस नेपाल र थाहा नगरपालिका र श्रमदान गर्ने डोटेराका स्वयंसेवक सहित स्थानीयलाई धन्यवाद समेत दिए।

खानेपानी आयोजना सम्पन्न गर्नकोलागि स्थानीय संगै डोटेरा हिलिङह्याण्ड फाउण्डेशमा आवद्ध विदेशी ४१ जना स्वयंसेवकहरुले समेत श्रमदान गरेका थिए । उनीहरु आयोजना क्षेत्रमा केही दिनदेखि स्थानीय जीवनशैली अवलोकनसंगै आयोजना अन्तर्गतको पाइपलाइन खन्नेपुर्ने लगायतका कामहरु गर्दै आएका छन् । स्वयंसेवकहरुमा जापानका ३५ जना, अमेरिकाका ४ जना, स्वीडेन र अष्ट्रेलियाका १र१ जना रहेका छन् ।

आयोजनाको शिलान्यास थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली सहित साँझेदार संस्था च्वाइस नेपालका राष्ट्रिय निर्देशक प्रतीक शर्मा, कार्यक्रम निर्देशक किरण न्यौपानेले संयुक्तरुपमा गरेका हुन् ।

शिलान्यास कार्यक्रममा मकवानपुर जिल्ला सहकारी संघका कोषाध्यक्ष बिमलकुमार ढकाल, सामुदायिक रेडियो प्रशारक संघका केन्द्रीय सदस्य ध्रुवराज ढकाल, थाहा नगरपालिका खानेपानी बोर्डका कर्मचारी सुरजकुमार भुजेललगायत जनप्रतिनिधि र स्थानीयको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*