हाँडिखोलाको पशुपतिनाथ माविका विद्यार्थीलाई साइकल

बाइलाइन नेपाल
२६ आश्विन २०८०, शुक्रबार ०८:२४

हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिका–४ मसिनेमा रहेको पशुपतिनाथ माध्यमिक विद्यालयले ६ देखि १० कक्षासम्मका १ सय १५ जना विद्यार्थीलाई साइकल प्रदान गरेको छ ।

विद्यालयमा बिहीबार आयोजित कार्यक्रममा वाग्मती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले विद्यार्थीलाई साइकल हस्तान्तरण गरेकी हुन्। विद्यार्थीलाई साइकलले कक्षामा नियमित उपस्थिति सहज हुनेमा उनले विश्वास व्यक्त गरिन् ।

बीचैमा पढाइ छाड्ने समस्या हटाउन र विद्यालय आउजाउमा समयमा बचतले बालबालिकालाई राहत हुने भनाइ उनले राखिन्। विद्यालयले मनहरी(४ वडा कार्यालयको आर्थिक सहयोगमा विद्यार्थीका लागि साइकल खरिद गरेको प्रधानाध्यापक भानुभक्त आचार्यले जानकारी दिए। साइकल सही रुपमा उपयोग गर्न आग्रह गर्दै उनले समय बचत हुने, सीप सिक्ने, शारीरिक स्वस्थता कायम गर्ने जस्ता फाइदा लिन विद्यार्थीलाई आग्रह गरे ।

मनहरी–४ का वडाध्यक्ष प्रकाश थापाको अगुवाइमा प्राप्त १० लाख रुपैयाँ बजेटबाट साइकल खरिद गरी वितरण गरिएको जानकारी हस्तान्तरण कार्यक्रममा दिइयो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष माधव गौतमले पढ्न आउजाउ गर्न एक घण्टाभन्दा बढी पैदल हिड्नुपर्ने बाध्यता भएका विद्यार्थीका लागि यसबाट ठूलो राहत भएको बताए ।

कार्यक्रममा गाउँपालिकाको शिक्षा शाखा प्रमुख प्रदीप पराजुली, पूर्ववडाध्यक्ष ध्रुव खड्का, विव्यस पूर्वअध्यक्ष रामहरि विष्टलगायतले साइकलको सही उपयोग गरी बालबालिकाको शिक्षा आर्जनमा सुधार गर्न आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*