यस्तो छ मकवानपुरमा चाडपर्व लक्षित सुरक्षा योजना

बाइलाइन नेपाल
२२ आश्विन २०८०, सोमबार ०८:०४

हेटौंडा । चाडपर्व लक्षित गरी मकवानपुर प्रहरीले सुरक्षा योजना लागू गरेको छ । चाडपर्वको समयमा हुनसक्ने चोरी, डकैती, लुटपाट, ठगी तथा सवारी दुर्घटना लगायतका गतिविधि रोक्न प्रहरीले मकवानपुर जिल्लामा सुरक्षा योजना लागू गरेको हो ।

मकवानपुरका एसपी सीताराम रिजालका अनुसार अघिल्ला वर्षको चाडपर्वमा भएको घटनालाई मध्यनजर गरेर यो वर्षको सुरक्षा योजना बनाइएको हो ।

‘सवारी दुर्घटना, जुवातास नियन्त्रण, मादक पदार्थ सेवनबाट हुने झैंझगडालाई हामी विशेष निगरानी गर्नेछौं ।’ दसैं‚ तिहार र छठ लगायतका चाडपर्व सुरक्षित बनाउन सुरक्षा योजना लागू गरिएको उनले बताए ।

यात्रुको सहजताका हेटौंडा बजारभर चार स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको जानकारी उनले दिए । मधेश र वाग्मती प्रदेशको सीमाना जोडिएको हेटौंडा–१५ रातोमाटेमा विशेष चेकजाँच, हेटौंडा–११ थानाभर्‍याङमा सवारीचालकलाई रिफ्रेस र परिवर्तन भएरनभएको हेर्ने गरी डेस्क स्थापना, हेटौंडा–१ त्रिभुवन राजपथमा सुमोका यात्रुलाई सहजता हुने गरी र हेटौंडा–१० बसपार्कमा यात्रुबाहक सवारीको परीक्षण गर्ने प्रहरीको योजना छ ।

‘शान्तिपूर्णरूपमा चाडपर्व मनाउनका लागि हामीले २४ सैं घन्टा परिचालन हुने गरी प्रहरी निरीक्षकको कमाण्डमा डेडिकेटेड समूह बनाएका छौं‚’ रिजालले भने । सुरक्षा योजनाअन्तर्गत ८ सय १७ जना प्रहरी परिचालन हुनेछन् ।

‘सुरक्षा योजनाका लागि हाम्रो जिल्लामा रहेको संख्याभन्दा ६४ जना प्रहरी अपुग छ । हामीले माथिल्लो मातहतको कार्यालयसँग माग गरेका छौं । ३२ जना थप प्राप्त पनि भइसकेको छ‚’ उनले भने ।

रात्रिकालीन सुरक्षाका लागि पाँच स्थान बेस बनाइएको उनले बताए । सवारी लुटपाट घटना हुन नदिन यात्रुबाहक बसमै हतियारसहित प्रहरी परिचालन गरिने सुरक्षा योजनामा छ । बजार अनुगमन, मठमन्दिर तथा आर्थिक कारोबार हुने क्षेत्रमा सादा पोसाकमा प्रहरी परिचालन गरिने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*