बारामा राणा परिवारले ८ करोड खर्चेर २० मुसहरलाई दिए घर उपहार

बाइलाइन नेपाल
१२ आश्विन २०८०, शुक्रबार २१:१९

देशमा भूमिहीन, सुकुम्बासीका समस्या बग्रेल्ती छन् । राज्यले नै भूमिहीन र सुकुम्बासीहरूको उचित गाँस–बास–कपासको व्यवस्थापन गर्न सकेको छैन ।आफ्ना नागरिकले छाना, नाना र खाना नपाए त्यसको संरक्षणको दायित्व राज्यको हुन्छ । तर, बारा जिल्लामा एउटा व्यक्तिको चाहनाले अतिविपन्न २० मुसहर (घाँगर) परिवारलाई छानाको व्यवस्था भएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–६ नगौलमा भूमिहीन मुसहर समुदायलाई एकीकृत बस्ती निर्माण गरेर तालासाँचो हातमा दिइएको छ ।

जंगबहादुर राणाको परिवारका सदस्यहरूको प्रभु शमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठीले २० घर निर्माण गरेर शुक्रबार २० मुसहर परिवारलाई हस्तान्तरण गरिएको हो । गुठीकी संस्थापक संरक्षक ८४ वर्षीया राजी राणाले गोलाप्रथाबाट नम्बरका आधारमा मुसहरहरुलाई घर छनोट गर्न लगाएकी थिइन् । राणाले घरको तालासाँचोसँगै प्रतिपरिवार १० हजारका दरले बन्दोबस्ती खर्चसमेत उपलब्ध गराएकी छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहकी माइजूसमेत रहेकी राणाले घर हस्तान्तरण गर्दै भनिन्, ‘हाम्रो सहयोगले कसैको घरमा बत्ति बल्छ भने त्यसमा हामी खुसी हुनेछौँ । प्रभुको (श्रीमान् प्रभु राणा) को सम्झनामा घर बनाइदिएकी हुँ ।’

नगौलमा जग्गा खरिद गरेर २० वटा ढलान घर तयार गर्दा ८ करोड रुपैयाँ खर्च भएको राणाका सहयोगी नवराज अर्यालले जानकारी दिए । प्रतिघर निर्माण गर्दा १८ लाख रुपैयाँ खर्च भएको छ ।

घरमा ३ वटा कोठा, एउटा शौचालय, ट्युबेल धाराको व्यवस्थापन गरिएको छ । हाल गुठीको नाममा रहेको जग्गामा बनेको घरको स्वामित्व मुसहरहरूलाई कागज गरेर उपलब्ध गराइएको छ । उनीहरूले घर, जग्गा किनबेच गर्न भने पाउँदैनन् । कुल ७ कठ्ठा १२ धुर क्षेत्रफलमा ३ करोड ६० लाख रुपैयाँ लागतमा निर्माण गरिएका २० वटा तीन कोठे पक्की घर वडा कार्यालयको रेखदेख तथा संरक्षणमा रहने छ ।

नयाँ घर पाएपछि मुसहर समुदायमा खुसी छाएको छ । गोलाप्रथाबाट २० नम्बरको घर पाएका छोटेलाल माझी मुसहरले प्लाष्टिकले बेरेको छाप्रोबाट ढलान घरमा बस्न पाउँदा खुसी लागेको बताए । ‘नयाँ घरमा सरेपछि अब बाढीले डुबाउँदैन । पहिला त हामी प्लाष्टिकले बेरेको छाप्रोमा बस्थ्यौँ । अब बालबच्चालाई पनि राम्रो भयो’, उनले सुनाए ।

वर्षौंदेखि ऐलानी जग्गामा कच्ची घरमा बस्दै आएका रञ्जित माझी मुसहर पनि पक्की घर पाउँदा खुसी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*