प्रदेशले पूर्ण अधिकार पाउनुपर्छः मुख्यमन्त्री जम्मकट्टेल

बाइलाइन नेपाल
३ आश्विन २०८०, बुधबार ११:११

हेटौंडा । बागमती प्रदेश सरकारले विविध कार्यक्रमको आयोजना गरी हेटौंडामा संविधान दिवस मनाईएको छ । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले संविधानमा उल्लेख गरे अनुसार प्रदेशले पाउनुपर्ने अधिकार प्राप्त गर्नुपर्ने बताएका छन् । आफुहरुले संविधानको अक्षरस पालना गरेको समेत उनले उल्लेख गरेका छन् । संविधानलाई कार्यान्वयन गरेर मात्र समृद्धि र समाजवाद आउने बताए । नेपालको संघीयतामा आफ्नै बिशेषता रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानसभाबाट जनताद्वारा निर्वाचित प्रतिनिधिहरूले विद्यमान संविधान निर्माण गरेको बताए । संविधान नै भएपछि यसमा सन्निहित विशेषताको वर्णन गरिरहनु सान्दर्भिक नहुने बताउँदै उनले भने–‘संविधानका मर्म र भावनाहरुको पालना गर्न प्रतिवद्धता व्यक्त गर्नु नै हामी सबैको मूल दायित्व हो । संविधानप्रतिको ओठेभक्ति र संघीयताप्रतिको विष वमन विरोधाभाषपूर्ण विषय हुन् । अन्तरवेदनाको असह्य पीडामा उत्सर्जित उच्छवास जनताको आँखाबाट बलिन्द्र धारा आँसु बनेर बहन्छ । ति आँसु पुछिदिने, अन्तरनादलाई मत्थर पार्न राहत दिने र आश्वस्त पार्ने शासकीय प्रणाली सुशासन हो ।’

संविधानले परिकल्पना गरेको यस्तै सुशासन रहेको उनले बताउनुभयो । सबैले संविधानको पालना, रक्षा र कार्यान्वयनमा अटल एवम् अविचल रहने दिनको रूपमा अङ्गीकार गर्नसके लोकतान्त्रिक आन्दोलनप्रति सम्मान र वीर शहीदहरुप्रति श्रद्घाञ्जली हुने बताउनुभयो । संविधानले समाजवादको सुखद् परिकल्पना गरेको छ र यसबाट समृद्ध नेपाल निर्माण गर्दै सुखी नेपालीको हसिलो मुहार हेर्ने अपेक्षा गरेको गरेको बताए ।
कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रदेशका मन्त्रीहरु, सचिबहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, कर्मचारीहरु, सुरक्षा निकायका प्रतिनिधिहरु लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*