आज ऋषिपञ्चमीको पूजा गरी तीज मनाईँदै
हेटौंडा । हिन्दू नेपाली नारीहरुले हरितालिका (तीज) अन्र्तगत आज ऋषिपञ्चमी मनाउँदै छन् । अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।
महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।
हेटौंडाको राप्ती, कुखरेनीलगायत विभिन्न शक्तिपीठ र नदी किनारमा सप्तऋषिको पूजा गर्ने ब्रतालुको घुँइचो लागेको छ ।
रजस्वलाका समयमा छाईछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।
राजस्वला हुनु महिलाको शारीरिक तन्दुरुस्तीको पाटो भएकाले यसलाई कुरितीमा जोडेर व्यवहार गर्न हुने कतिपय अधिकारवादीहरुको मत छ ।
नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ ।