डुम्रेकुनामा भएको शिविरमा दुई सयको निःशुल्क स्वास्थ्य परीक्षण

बाइलाइन नेपाल
११ असार २०८०, सोमबार ०८:२३

हेटौंडा । मकवानपुरगढी गाउँपलिका वडा नम्बर ६ डुम्रेकुनामा आइतबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । नेपाल औषधि व्यवसायी संघ मकवानपुरको ५० औं स्थापना दिवसको अवसरमा डुम्रेकुनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

संघको आयोजना तथा मकवानपुरगढी ६ नम्बर वडा कार्यालयको सहकार्यमा विशेषज्ञसहितको टोलीबाट स्वास्थ्य परीक्षण गरिएको कार्यक्रम संयोजक एंव संघका महासचिव भरत कार्कीले बताए ।

कार्यक्रम संघका अध्यक्ष नारायणलाल श्रेष्ठको सभाध्यक्षता तथा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा वडा ६ का अध्यक्ष कृष्णप्रसाद बजगाई, औषधि व्यवसायी संघका सल्लाहकार विष्णु थापा, सचिव यादव अर्याललगायतको आतिथ्यता रहेको थियो ।

शिविरमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. ज्योति मुडवरी, हाडजोर्नी तथा नशाका डा. आशुतोष दास, जनरल फिजिसियन डा. रामचन्द्र न्यौपाने, घनश्याम प्रताप साह र प्याथोलोजी सेवामा प्रज्ञान घिमिरेले स्वास्थ्य परीक्षण गरेको कार्यक्रम संयोजक कार्कीले बताए ।

शिविरमा सेवाग्राहीहरुलाई रोग अनुरुप आवश्यक निःशुल्क औषधि समेत वितरण गरिएको थियो । शिविरमा दुई सय भन्दाबढीले सेवा लिएको संयोजक कार्कीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*