थाहा आन्दोलनका प्रणेता रूपचन्द्रको स्मृति दिवस मनाइँदै

बाइलाइन नेपाल
७ असार २०८०, बिहीबार ०९:४३

हेटौंडा । थाहा आन्दोलनका प्रणेता रूपचन्द्र विष्टको २४ औँ स्मृति दिवस आज मनाइँदैछ। दिवसका अवसरमा बिहीबार काठमाडौं, मकवानपुरको हेटौंडा र पालुङमा कार्यक्रम गरिँदैछ।

हेटौंडामा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम हुुँदै छ । हेटौंडा–११ स्मारकरोडमा रहेको थाहा भवनमा रुपचन्द्र विष्ट स्मारक समितिको आयोजना कार्यक्रम गरिएको छ । यस्तै पालुङमा विष्टको प्रतिमामा माल्र्यार्पण तथा काठमाडौंमा वैचारिक कार्यक्रम आयोजना गरिएको छ ।

रुदाने, जसरु, रापसरु, स्वरूपे जस्ता उपनामले परिचित विष्ट २०२२ मा मकवानपुरको पालुङ गाउँ पञ्चायतका प्रधानपञ्च भएका थिए। त्यससमय उनले मकवानपुरको उत्तरी क्षेत्रमा शिक्षा आन्दोलन चलाएका थिए।

विष्टले ‘छोरा पढाउने, छोरी नपढाउने मुर्दावाद, छोराछोरी दुवै पढाउने जिन्दावाद’ जस्ता नारासहित अभियान चलाएका थिए। उनले छोराछोरीलाई स्कुल नपठाउने अभिभावकलाई जरिवाना तिराउने व्यवस्था समेत गरेका थिए। विष्टले चलाएको आन्दोलनले समाजमा परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको थियो।

उनी २०२८ सालमा स्नातक कोटामा राष्ट्रिय पञ्चायतको सदस्य भएका थिए। प्रजातन्त्रवादी विचार भएकै कारण राष्ट्रिय पञ्चायत सदस्य रहँदा समेत उनी पक्राउ परेका थिए। १९९० पुस २६ गते मकवानपुरको दामन घर्तीखोलामा जन्मिएका उनको २०५६ साल असार ७ गते काठमाडौंमा निधन भएको थियो।

 

को हुन् रुपचन्द्र विष्ट ?

मकवानपुरका रुप्चन, रुदाने, स्वरूपे आदि नामबाट चिनिने रूपचन्द्र विष्टको जन्म बाबु पदमबहादुर विष्ट र आमा चित्रकुमारीबाट वि.स. १९९० पौष २६ मा भएको हो । उनी एक सम्भ्रान्त परिवारका सदस्य थिए । विष्ट मकवानपुरलाई आफ्नो कार्यक्षेत्र बनाएर चेतना फैलाउने शिक्षावादी, जनबादी नेता थिए ।

विष्टले पारिवारिक विचार भन्दा फरक कम्युनिस्ट राजनीति स्कुले जीवनबाटै शुरु गरे । वि.स. २००७ देखि २०१० सम्म कम्युनिस्ट विद्यार्थी राजनीतिमा सक्रिय रहे । २०१० देखि २०१७ सालसम्म किसान र मजदुरहरूको पार्टीमा क्रियाशील रहे ।

त्यसैगरी २०१७ देखि २०२६ सालसम्म उनको सक्रियता बिद्यार्थी र किसान क्षेत्रमा रह्यो । १७ सालपछि २२ र २९ सालमा मकवानपुरको पालुङ गाउँ पञ्चायतका प्रधानपञ्च रहे र पछि २०२८ सालमा स्नातक कोटामा राष्ट्रिय पञ्चायत सदस्य भए ।

उनले बीए र बीएल सम्म औपचारिक अध्ययन गरे र पछि सरकारको असहयोग रहेकोले भारतमा स्वनिर्वा्सित भएर पूर्वीय दर्शनको अध्ययन गरे ।

जेलजीवन र गिरफ्तारी

उनको बिचार जनवादी भएकाले राष्ट्रिय पञ्चायत सदस्य रहँदा समेत उनलाई गिरफ्तार गरियो । पटक पटक गिरफ्तार भए पनि जनमुखी राजनीतिमा पूर्ण प्रतिवद्ध रहे । साधारण जीवन रुचाउने उनले बिबाह गर्दा समेत पाहुनालाई चिया मात्र खुवाए । दुई सन्तान भएका उनको पछि सम्बन्ध बिच्छेद भयो ।

धेरै पटक राजद्रोह लगायत अन्य आरोपमा पक्राउ परेका बिष्टलाई तत्कालिन पञ्चायती सरकारले धेरै पटक जेल हालेको थियो । नेपालमा भने उनी बेपत्ता भएको समय उनी मारिएको शंका समेत गरिएको थियो । फर्केपछि मकवानपुरको दामनमा प्राकृतिक बिज्ञानको ८ वर्ष स्वअध्ययन गरे । उनी स्थानीय बिद्यालयमा प्रधानाध्यापक भए । बिहान बेलुका प्रौढ शिक्षा समेत चलाए ।

०३८ र ०४३ सालमा मकवानपुरबाट तत्कालीन राष्ट्रिय पञ्चायतमा प्रतिनिधित्व गरेका विष्ट फोटो होइन, विचार राखेर निर्वाचन लड्थे । विष्ट मुलुकमा रहेको मण्डलेतन्त्रको मात्र होइन, घर, टोल, गाउँ र दलभित्र रहेको मण्डलेतन्त्रको पनि प्रखर विरोधी थिए । केही समय विष्टसँग जेलमा बसेका वर्तमान प्रधानमन्त्री केपी ओली यसरी सम्झन्छन् विष्टलाई, ‘उनी महान् मान्छे थिए, जीवनको विशेषता जनशैली, राजनीतिको विशेषता जनमुखी । यी रूपचन्द्रका विशेषता हुन् ।’

थाहा आन्दोलनको सुरुवात

वि.सं. ०२९ र ३० सालतिर रूपचन्द्र विष्टले थाहा आन्दोलन सुरू गरे । रूपचन्द्र र उनका सहकर्मीका हातबाट चट्टान, भित्ता, पर्खाल, रूखदेखि खाली कागज र चुरोटको बट्टासम्ममा ‘थाहा’ लेखिए ।

‘थाहा’ नेपाली छाप्राहरूमा पुगेको पहिलो दार्शनिक आन्दोलन थियो । यस आन्दोलनको सबभन्दा महत्वपूर्ण विशेषता के थियो भने यसमा कुनै पनि प्रकारको सैद्धान्तिक क्लिष्टता या अस्पष्टता थिएन । यस आन्दोलनको सार नै यसका प्रवर्तकको रुखो बोली र ठाडो आग्रह थियो ।

उनी भन्थे, ‘थाहा पा भाते ! जान् भाते ! बुझ् भाते !’ थाहा आन्दोलनको मूल लक्ष्य भनेको चेतनाहीन जनतालाई चेतना सम्पन्न नागरिकमा रूपान्तण गरी राजनीतिक र सामाजिक जागरण गर्नु हो ।’

शिक्षामा उनको योगदान

रुदाने, जसरु, रापसरु, स्वरूपे, जस्ता उपनामले परिचित विष्टले २०२८ सालमा मकवानपुरको उत्तरी क्षेत्रमा शिक्षा आन्दोलन चलाएका थिए । रूपचन्द्र विष्ट मकवानपुरमा आफ्नो कार्यक्षेत्र र चेतना फैलाउने शिक्षावादी, नारीवादी र जनवादी नेता थिए । ‘छोरा पढाउने, छोरी नपढाउने मुर्दावाद–छोराछोरी दुवै पढाउने जिन्दावाद’ भन्ने जस्ता नाराका साथ विष्टले चलाएको आन्दोलनले समाजमा परिवर्तन ल्याउन सहयोग गरेको थियो। उनले छोराछोरी स्कुल नपठाउने अभिभावकलाई जरिवाना तिराउने व्यवस्था समेत गरेका थिए ।

‘थाहा’ एक दर्शन हो

रूपचन्द्र विष्ट त्यस्ता नेपाली थिए, जो राजनीति गरेर राजनीतिज्ञ कहलिएनन् । श्रम गरेर पनि श्रमिक भनिएनन्, साहित्य लेखेर साहित्यकारमा दरिएनन् । मौलिक दर्शन स्थापित गरेर पनि दार्शनिक भनिएनन् ।

उनलाई एक सनकी मान्छेका रुपमा तत्कालिन शासकले उनलाई चित्रण गर्‍यो । थाहा अभियानका त्यतिवेलाका एक अभियन्ता मदन राई थाहा अभियानलाई नेपाली माटोमा जन्मिएको दर्शन भन्छन् ।

एक अराजक मान्छे ‘विष्ट’

सामान्यरूपले हेर्दा रूपचन्द्रका केही क्रियाकलाप अराजकजस्ता लाग्दछन् । यसका केही नमुना हेरौँ‘उनी पञ्चायती व्यवस्थाविरोधी एजेण्डा बोकेर चुनाव जित्थे । चुनावी पर्चा सित्तैमा नदिएर बिक्री गर्थे । जनतालाई तिमीहरू भाते कुकुर हौ भनेर भोट माग्थे ।

‘भाते कुकुर’ शब्द सम्माननीय शब्दका रूपमा उनले प्रयोग गरेका हुन् । ‘भाते कुकुर’ शब्दको अभिधा अर्थ खराब भए पनि यी शब्दले पुकारिने मानिस असल हुने गर्थे । कुकाम गर्नेहरूले कहिल्यै यस खाले सम्बोधन पाएनन् । भ्रष्टचारीलाई उनी खुलेरै भ्रष्टचारी भन्थे, गद्दारलाई गद्दार नै भन्थे । छोराछोरीलाई नपढाउनेलाई श्रमसजायको दायरामा ल्याउँथे ।

पञ्चायतलाई शोषक, फटाहाहरूको अराजक व्यवस्था भन्थे । नेतानेतृ सम्माननीय हुन जनता जाननीय हुनुपर्छ भन्ने उनको मत छ । उनले राष्ट्रिय पञ्चायतदेखि आमसभा र सर्वसाधरण एवं शासकहरूसँग एकै किसिमको भाषा बोले । चाहे सर्वसाधारण हुन् या शासक प्रशासकहरू नै किन नहून् सबैलाई तँ भन्थे, तिमी विरलैलाई भन्थे । तपाईँ भन्ने खालका मानिसहरू उनको नजरमा विल्कुलै कम थिए ।

रूपचन्द्र विष्टले जीवनको उत्तराद्र्धकालसम्म पनि अभियानलाई निरन्तरता दिइरहे । आफू झुप्रेझाम्रे भएकोले सोही बमोजिमको सामान्य ठाउँमा उपचार गर्न र मरेपछि विल्कुलै सामान्य वर्गकोझैँ अन्तेष्टी गर्न अह्राएका थिए ।

सहयोगीलाई आफ्नो मृत लासमा अविर, माला नलगाउन, काजक्रिया नगर्न र लासको राजनीति नगर्न समेत भनेका थिए । नेपाली माटोले चिन्न नसकेको तीनै महान व्यक्तिको मृत्यु २०५६ साल असार ७ गते ६६ वर्षको उमेरमा भएकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*