नेकपा एसको मोर्चा संगठन मकवानपुरले गर्यो कारबाहीको माग

बाइलाइन नेपाल
४ जेष्ठ २०८०, बिहीबार ०६:४८

हेटौँडा । नेकपा (एकीकृत समाजवादी)को मोर्चा संगठनहरुले नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन गरिएको कार्यमा संलग्नलाई कारबाही गरेरै छाड्न माग गरेको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेलाई ज्ञापनपत्र बुझाउदै मोर्चा संगठनले मानव बेचबिखन र भ्रष्टाचारको ग्राण्ड डिजाइनविरुद्ध आफूहरु खुलारुपमा सडकमा उत्रेको उल्लेख गरेको छ । ‘यो कुकृत्यमा संलग्न सबै अपराधीहरुलाई गिरफ्तार गरी हदैसम्मको कानुनी कारबाही गर्न हाम्रो पार्टीले विगतदेखि नै सार्वजनिकरुपमा माग तथा आह्वान गर्दै आएको हो । त्यसयताका दिनहरुमा यो जघन्य अपराधमा संलग्न भएका सबैलाई कारबाही गर्न र तिनीहरुलाई कुनै पनि बहानामा दोषमुक्त नबनाउन वा मुद्दालाई कमजोर तथा निश्प्रभावी नपार्न राजनीतिक दलहरु र अधिकारकर्मी तथा नेपाली नागरिक सडकमा धर्ना र प्रदर्शन गरिरहेका छन् ।’ ज्ञापनपत्रमा भनिएको छ, ‘नक्कली भुटानी शरणार्थी काण्डका भ्रष्टाचारीहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउन आजसम्म सरकारले राखेको अडान, कार्य र सकृयताले आमनागरिकको वीचमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।’

सरकारको कामले यतिबेला निराश जनता केही मात्रामा आशावादी बनेको बताउदै संगठनले यसका लागि नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छौँ भनेको छ । मोर्चा संगठनहरुले देशका कतिपय उच्च पदस्थ नेता, उपप्रधानमन्त्री, मन्त्री, सांसद तथा मन्त्रालयका सचिवले नै देशका नागरिकलाई अर्को देशको नक्कली नागरिक बनाई बिक्री गर्नु मानवबेचविखनको कार्यमात्र होईन राष्ट्रप्रति धोखा र राष्ट्रद्रोही कार्य भएको बताएका छन् ।

ज्ञापनपत्रमा यस कुकर्मबाट राष्ट्रको प्रतिष्ठामा गम्भीर क्षति भएको उल्लेख गर्दै यस काण्डमा संलग्न पूर्व उपप्रधानमन्त्री, मन्त्री, कतिपय दलका उच्चपदस्थ नेता, बहालवाला सांसद, उच्चपदस्थ कर्मचारी लगायतका मानिसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गर्ने काम हुन पुगेको जनाइएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध कुप्रचार गरी देशलाई अराजक परिस्थतितिर लैजान खोजिएको देखिएको भन्दै नक्कली भुटानी शरणार्थी काण्डलाई आधार बनाएर संसद भित्रैबाट संविधानविरुद्ध समेत बोल्ने काम गरिएको बताइएको छ । यसबाट परिवर्तनकामी राजनीतिक शक्तिको मनोबल खसाल्ने प्रयास गरिएको पनि ज्ञापनपत्रमा उल्लेख छ ।

विगतका धेरै भ्रष्टाचार काण्ड यत्तिकै बीचैमा सामसुम पारिएका हुँदा आमजनताका मनमनमा कतै यो संगीन मुद्दालाई पनि कमजोर पार्ने काम त भइरहेको छैन भन्ने गम्भीर आशंका जन्मिएको एकीकृत समाजवादी निकट मोर्चाहरुको भनाइ छ । ‘हाम्रो पार्टी यो विषयप्रति धेरै नै संवेदशील छ र गम्भीरपूर्वक अध्ययन गरिरहेको छ । कुनै पनि प्रकारको मिलोमतोमा अपराधीलाई उन्मुक्ति दिई जनताको भावनामाथि खेलवाड गर्न थालियो भने त्यो देश र जनतामाथि थप कुठाराघात मात्र हुनेछ भनी हामी सरकारलाई सचेत गराउन चाहन्छौँ ।’ ज्ञापनपत्रमा उल्लेख छ, ‘नेपाल सरकारका अपराध अनुसन्धानमा खटिएका सबै निकायले दृढतापूर्वक अनुसन्धानलाई अगाडि बढाउन तथा अपराधीमाथि मुद्दा दायर गर्ने निकायले मुद्दालाई कमजोर बनाउने काम नगरून् भन्ने हाम्रो गम्भीर आग्रह छ ।’

मुद्दालाई कमजोर बनाई सामान्य कसुरका रूपमा परिणत गरी घटनालाई ढाकछोप गर्ने षडयन्त्र नगरियोस भनी यो ज्ञापनपत्र प्रस्तुत गरेको जनाइएको छ । ‘नक्कली भुटानी शरणार्थी काण्डसम्बन्धी अपराधको सम्पूर्ण सञ्जाललाई कानुनको घेराभित्र ल्याई कडाभन्दा कडा कानुनी सजाय दिन हामी सरकारसमक्ष जोडदार माग गर्दछौँ ।’ ज्ञापनपत्रमा भनिएको छ, ‘भ्रष्टाचारमा संलग्नहरु जतिसुकै शक्तिशाली भए पनि कारबाहीमा पर्छन् भन्ने देखिएमा मात्रै निराश जनतामा नयाँ आशा र विश्वास पलाउने छ ।’

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष विष्णुप्रसाद दाहाल, सचिव ध्रुव भुजेल, युवा संघका किरण बल, कविन पन्त, अनेरास्ववियुका किशोर टन्डन, समाजवादी प्रेस संगठनका रामकुमार एलनलगायतको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*