विपद् रोक्न बागमतीका स्थानीय तहलाई जेठमै करोड

बाइलाइन नेपाल
३ जेष्ठ २०८०, बुधबार ०६:५५

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मनसुन सुरु हुनुअघि प्रत्येक स्थानीय तहमा विपदको तयारीका लागि एक/एक करोड रुपैयाँ उपलब्ध गराउने बताएका छन् । यसअघि विपदजन्य शीर्षकका ठूला बजेट काम गर्न नसकेर फ्रिज भएको र अब त्यसो हुन नदिने उनले प्रतिबद्धता गरे ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको आयोजना र प्रतिबद्ध परियोजनाको व्यवस्थापनमा चौतारा साँगाचोकगढी नगरपालिकाको सुकुटेमा भएको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रममा उनले विपद न्यूनिकरणका लागि तीव्र त‌यारी भइरहेको जानकारीसमेत दिए । यसअघि ठूला विपदका बजेट काम हुन नसकेर फ्रिज भए, अब त्यस्तो हुँदैन, प्रत्येक स्थानीय तहमा मनसुनअघि तयारी गर्न बजेट आइपुग्छ, मुख्यमन्त्री जम्कट्टेलले भने ।

बर्खा सुरु हुने अगावै विपदले ग्रस्त १३ जिल्लाका सबै स्थानीय तहमा जेठ महिनाभरमा विपदजन्य सामग्री पुर्‍याउन बजेट अभाव नहुने उनको भनाइ थियो । ुसिन्धुपाल्चोक विपदले झनै पीडित छ, यसको लागि केही समयअघि ७ करोड ४२ लाख बजेट छुट्टिएर गएको छ,ु उनले भने । राहत कोषमा जम्मा भएको जुरे पहिरो पीडितको सवा दुई करोडको विवरणको फाइल मुख्यमन्त्रीले त्रिपुरासुन्दरी, बलेफि र बाह्रबिसे नगरपालिकाका प्रमुखलाई हस्तान्तरण गरेका थिए ।

मुख्यमन्त्रीसहित वाग्मती प्रदेश आन्तरिक मामिला कानुनमन्त्री गंगानारायण श्रेष्ठ, प्रतिनिधिसभा १ का सांसद माधव सापकोटा, प्रदेश सांसद, सिन्धुपाल्चोकका प्रहरी, प्रशासन प्रमुख र आठ स्थानीय तहका जनप्रतिनिधि उपस्थिति थिए ।

मुख्यमन्त्रीसहितको विपद छलफलबाट अरनिको बन्देउमा विपदजन्य खोज तथा उद्वार सामग्री राखिने, भोटेकोसी, सुनकोसी र बलेफी नदीमा पूर्वसूचना प्रणाली जडान र पूर्वसावधानी, सूचनाका लागि वर्षात् सतह मापनयन्त्र जडान गर्नेजस्ता निर्णय भएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*