मनहरीमा स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु

बाइलाइन नेपाल
२९ पुष २०७९, शुक्रबार ०९:४३

हेटौंडा। मकवानपुरमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–९ ज्यामिरे भलादमीचोकमा स्कुटर दुर्घटना हुँदा चालक सहित स्थानीय ३ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतमले वताउनुभयो । स्कुटरलाई अरु सवारी साधनले ठक्कर दिएर तीन जनाको मृत्यु भएको स्थानीय वासिन्दाहरुले वताएका छन् । ठक्कर दिने सवारी साधनको पहिचान हुन सकेको छैन ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत गएराति १० बजेतीर ना ३९ प १४३९ नम्बरको स्कुटर दुर्घटना हुँदा ३ जनाको ज्यान गएको हो। दुर्घटनामा मनहरी गाउँपालिका वडा नम्बर–८ सिमपानी बस्ने अन्दाजी ३२ बर्षीय धर्मराज मोक्तान, स्कुटरमा सवार सोही स्थान बस्ने अन्दाजी ३० बर्षीय मिलन मोक्तान र राक्सिराङ गाउँपालिका वडा नम्बर–३ लावती बस्ने ३२ बर्षीय रुपेश तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

रुपेश र मिलनको भरतपुरस्थित पुरानो मेडिकल अस्पतालमा पुर्‍याउने बित्तिक्कै मृत्यु भएको थियो भने धर्मराजको शुक्रबार बिहान ३ बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक तीनै जना एउटै स्कुटरमा सवार थिए ।

उक्त दुर्घटनाका कारण आक्रोशित स्थानीयले बिहीबार राति ११ बजेदेखि बिहान ६ बजेसम्म राजमार्ग ठप्प पारेका थिए । ठक्कर दिने सवारी साधनको तत्काल पत्ता लगाउने सहमतिमा राजमार्ग खुलाइएको छ । ठक्कर दिने सवारी साधनको खोजी गरिरहेको प्रहरीले जनाएको छ । कुन सवारीले ठक्कर दिएको हो भन्ने अनुसन्धान भइरहेको मृतकको शव मेडिकल कलेजमै रहेको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*