बागमती गोल्डकप : मकवानपुर–११ सेमिफाइनलमा, पुलिस पराजित

बाइलाइन नेपाल
२६ पुष २०७९, मंगलवार १२:५०

बागमती । मकवानपुर –११ पाँचौ बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मकवानपुरको बागमती गाउँपालिकामा आइतबारदेखि सुरु भएको प्रतियोगितामा मकवानपुर –११ ले विभागिय टिम नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

खेलको पहिलो हाफको ९ औं मिनेटमा जर्सी नम्बर १० का एलिस चौलागाईले एक गोल गरेर मकवानपुरलाई अग्रता दिलाए । दोस्रो हाफमा पुलिसका १२ नम्बर जर्सीका रवी पासवानले ५७ औं मिनेटमा गोल फर्काएपछि खेल बराबरीमा पुगेको थियो ।
खेलकै दोस्रो हाफको ६७ औं मिनेटमा जर्सी नम्बर ११ का अनिश महर्जनले थप एक गोल गरेपछि मकवानपुरको जित सुनिश्चित बन्यो । यो जितसंगै मकवानपुर –११ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अब उसले माघ १ गते संकटा क्लब, मच्छिन्द्र क्लब र नेपाल ए.पि.एफ. क्लब मध्ये एक टिमसंग प्रतिस्पर्धा गर्नेछ ।

आजको जितसंगै खेलको म्यान अफ दि म्याच मकवानपुरका अनिश महर्जन घोषित भएका छन् । उनले नगद ५ हजार पुरस्कार प्राप्त गरे । प्रतियोगितामा खेल हेर्ने दर्शकलाई समेत मध्यनजर गरेर फ्यान अफ दि म्याचको पुरस्कार स्थानीय कमला मगरले प्राप्त गरेकी छिन् । उनले नगद २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको आयोजक बागमती खेलकुद विकास समितिका अध्यक्ष टिकालाल श्रेष्ठले बताए ।
भोली (मंगलबार) हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच खेल हुनेछ । खेल दिउँसो २ बजे हुनेछ ।

प्रतियोगितामा विजेता टिमले नगद ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । माघ ३ गतेसम्म आयोजना हुने प्रतियोगितामा राष्ट्रिय, स्थानीय तथा अन्तर्राष्ट्रिय गरी १० टिमको सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*