साबिक विजेता एबिसीलाई हेटौँडा भेट्रान्सको उपाधि

बाइलाइन नेपाल
२६ पुष २०७९, मंगलवार १२:४१

साबिक विजेता एबिसी भेट्रान्स पोखराले हेटौँडामा सञ्चालित आठौँ राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शनिबार भएको फाइनल खेलमा काठमाडौँको बानेश्वर भेट्रान्सलाई ३–० गोल अन्तरले हराउँदै पोखराले लगातार उपाधि कब्जा गरेको हो।

हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको फाइनलमा एबिसीको तर्फबाट नरेन्द्र जङ्ग गुरुङ, कन्या सुब्बा र राजकुमार घिसिङले समान एक÷एक गोल गरेका हुन्। पोखराले मनाङमस्र्याङ्दी भेट्रान्सलाई र बानेश्वरले सिमरा भेट्रान्स बारालाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो।

उपाधि विजेता पोखराले नगद १ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता बानेश्वरले ५५ हजार ५५५ रुपैयाँमै चित्त बुझाएको छ। पोखराका राजकुमार घिसिङ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए। पोखराका गोलरक्षक खिम गुरुङ, डिफेन्डर कन्या सुब्बा, मिडफिल्डर विजय गुरुङ, प्रशिक्षक खेमबहादुर गुरुङ तथा बानेश्वरका युवराज भुजेल उत्कृष्ट फरवार्ड घोषित भए। उनीहरुले नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

हेटौँडा भेट्रान्सको आयोजनामा पुस २३ गतेबाट सुरु भएको प्रतियोगितामा देशभरका १७ टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीहरुलाई हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, आयोजक हेटौँडा भेट्रान्सका अध्यक्ष रमेशकुमार उप्रेतीलगायतले पुरस्कार वितरण गरेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*