बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जम्मकट्टेल नियुक्त

बाइलाइन नेपाल
२६ पुष २०७९, मंगलवार ११:५१

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओबादीका संसदीय दलका नेता शालिकराम जमकट्टेल नियुक्त हुनु भएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष मुख्यमन्त्रीका लागि दावि पेस गरेका नेकपा माओबादी केन्द्रका संसदीय दलका नेता जमकट्टेललाई मुख्यमन्त्रीका रुपमा नियुक्त गरिएको हो ।

प्रदेश प्रमुख शर्माले उहाँलाई आजै मुख्यमन्त्रीका रुपमा नियुक्त गर्नुभयो । उहाँ नेकपा एमाले, नेकपा माओबादी केन्द्र, राप्रपा, एकिकृत समाजबादी र हाम्रो नेपाली पार्टीका सांसदहरुको समर्थनमा मुख्यमन्त्री बन्नु भएको हो । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेको आज अन्तिम दिनमा सत्ता साझेदार दलहरुका बिचमा सहमती जुटेसंगै आज यस प्रदेशले चौथो मुख्यमन्त्रीका रुपमा जम्मकट्टेल नियुक्त हुनु भएको हो । पहिले आन्तरिक मामिला मन्त्री र आर्थिक मामिला मन्त्रीका रुपमा काम गरिसक्नु जम्मकट्टेल मुख्यमन्त्रीका रुपमा नियुक्त भएसंगै अब मन्त्रीहरु नियुक्त गर्ने बाटो पनि खुलेको छ ।

१ सय १० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५६ सिट आवश्यक पर्छ । बागमतीमा मुख्यमन्त्रीमा समर्थन गर्ने दलहरुसंग ७० सिट छ । सरकारमा गठबन्धनका तीनवटै दलले दाबी गरेका थिए । गठबन्धनमा भएको सहमतिअनुसार बागमतीको सभामुख राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र उपसभामुख एमाले पाएको छ । बागमतीमा यसअघि एमालेबाट डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य र नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नु भएको थियो । जमकट्टेल अब चौथो मुख्यमन्त्री बन्नु भएको हो ।

नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेल बागमती प्रदेशको चौथो मुख्यमन्त्री बन्नु भएको हो । यस प्रदेशमा नेकपा एमाले र माओबादीले आलोपालो मुख्यमन्त्री पाउने भएपछी पहिलो चरणमा भने माओबादीले यसको नेतृत्व गर्ने सहमती भएको छ । जम्मकट्टेल यसअघि २०७४ मा नेकपाको सरकार हुँदा आन्तरिक मामिला तथा कानुनमन्त्री हुनुहुन्थ्यो । नेकपा विभाजन हुँदा उहाँले मन्त्री पदबाट राजीनामा दिनु भएको थियो । २०७४ को निर्वाचनमा धादिङ क्षेत्र नंम्बर– १ को प्रदेशसभा (२) बाट निर्वाचित हुनु भएका जम्मकट्टेल ४ मंसिरमा भएको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित हुनु भएको हो ।

२०३० साल भदौमा साविकको किराञ्चोक गाविस वडा नम्बर ९ मा जन्मिनु भएका जम्मकट्टेल हाल माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवम् धादिङ जिल्ला इन्चार्ज समेत हुनु हुन्छ । २०४४ सालमा अखिल छैटौंमा आबद्ध भएर उनले विद्यार्थी राजनीति शुरु गर्नु भएको थियो । २०४८ बाट उनी मजदुर संगठनमा लाग्नु भएको थियो । औद्योगिक मजदुर संगठनको ललितपुर जिल्ला कमिटी सदस्य हुँदै केन्द्रीय कोषाध्यक्ष भएका उहाँ २०५२ सालमा माओवादी युद्धमा होमिनुभयो । त्यसयता माओवादीमा निरन्तर क्रियाशील उहाँ २०६० सालबाट एक दशकभन्दा बढी समय माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष भएर काम गर्नुभयो ।

बीए, बीएल सम्मको अध्ययन गरेका जम्मकट्टेलले मजदुर संगठनको नेतृत्वमा आएपछि राजनीतिक उचाइमा पुग्नु भएको हो । २०६३ मा पुनःस्थापित संसद्को अन्तरिम विधायिका हुनु भएको थियो । २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा धादिङ क्षेत्र नंम्बर– ३ बाट एमालेका प्रभावशाली नेता राजेन्द्र पाण्डेलाई हराएर थप चर्चामा आउनु भएको थियो । यद्यपि २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा भने उहाँ पाण्डेसँगै पराजित हुन पुग्नुभयो । योपटक उहाँले प्रतिनिधिसभा सदस्य बन्ने इच्छा देखाउनु भएको थियो । भागबण्डामा धादिङ १ मा एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका मुख्यमन्त्री राजेन्द्र पाण्डेले दाबी नछाडेपछि उहाँ पुनः प्रदेशसभा सदस्यमा दोहोरिनु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*