मतदाताले मतदान गर्दा ध्यान दिनुपर्ने कुरा

बाइलाइन नेपाल
३० कार्तिक २०७९, बुधबार ०८:०७

मतदान गर्न मतदान केन्द्रमा जाँदा मतदाताले विभिन्न कुरामा ध्यान दिनु पर्ने निर्वाचन आयोगले जनाएको छ । आफ्नो गोप्यमतदानको अधिकार प्रयोग गर्दा विशेष ध्यान दिनुपर्नेमा आयोगले सचेत गराएको छ ।

मतपत्रमा मत संकेत गरिसकेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रदर्शन गर्न, तोकिएको स्थानभन्दा बाहिर गई मत संकेत गर्न वा मत संकेत गरेको व्यहोरा सार्वजनिक गर्न र छाप लगाएको मतपत्र आफूसँग लिएर जान नहुने आयोगले स्पष्ट पारेको छ ।

मतदान प्रक्रियाको गोप्यता भंग गर्ने मतदातालाई मतदान अधिकृतले १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था छ ।मतदान केन्द्रमा मतदान गर्न जाँदा प्रज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामरा लिएर जान नहुने पनि आयोगले जनाएको छ ।

मतदातालाई मतदान गर्न जान वा मतदान गर्नबाट वञ्चित गराउने अभिप्रायले झुठा अफवाह, भ्रामक समाचार फैलाउन वा कुनै अवरोध गर्ने काम गर्न वा गराउन नहुने आयोगको भनाइ छ ।

मतदान गर्न जाँदा राजनीतिक दल वा उमेदवारको निर्वाचन चिह्न वा झण्डा अंकित कपडा, टिसर्ट, ज्याकेट, गम्छा, टोपी वा क्याप, भेष्ट लोगो, ब्याच, मास्क, स्टिकर लगाउन वा झोला बोक्न पाइने छैन ।

मतदान केन्द्रमा मतदान गर्न जाँदा कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन गर्नु हुँदैन । मतदान गर्न जाँदा मतदाताको शरीरको कुनै भागमा बनाइएको उमेदवारको फोटो, दल वा उमेदवारको निर्वाचन चिह्न वा झण्डा अंकित ट्याटु प्रदर्शन गर्न आयोगले दिने छैन ।

कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक, मेसेञ्जर, ट्विटर, भाइबर, युट्युब, इन्स्टाग्रामजस्ता विद्युतीय माध्यमको प्रयोग गरी तथ्यहीन सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने पनि आयोगले जानकारी दिएको छ । प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते देशभर एकै दिन हुँदै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*