मकवानपुरको समग्र बिकास गर्न डिनाको उम्मेद्वारी

बाइलाइन नेपाल
२२ कार्तिक २०७९, मंगलवार २१:१५

हेटौंडा /आगामी मंसिर ४ गते हुने निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य पदमा बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ उम्मेद्वार रहनुभएको छ ।

उपाध्याय उम्मेदवार बनेसँगै मकवानपुर १ मा उहाँको लोकप्रियता बढ्दै गएको छ । उहाँको यो चौथो पटक चुनावी प्रतिस्पर्धा पनि हो । विद्यार्थी कालबाटै कांग्रेसको राजनीतिमा आवद्ध हुनुभएको उहाँ पार्टीमा पनि उत्तिकै सक्रिय र प्रभावशाली हुनुहुन्छ । सोही सक्रियताका कारण उहाँ समानुपातिकतर्फको पहिलो नम्बरको दावेदार हुँदापनि त्यसलाई त्यागेर मकवानपुर प्रतिनिधिसभा १ जनताको सेवाको लागि प्रत्यक्ष तर्फको उम्मेद्वार हुनुभएको हो ।

उहाँले मकवानपुर–१ को जनताको मतबाट अनुमोदन हुन विभिन्न क्षेत्रलाई समेटेर आफ्नो चुनावी संकल्पहरु पनि सार्वजनिक गरिसक्नुभएको छ । सहजै समानुपातिकबाट सांसद हुने निश्चित भए पनि जनतासँग प्रत्येक्ष जोडिएर मकवानपुरको विकास र समृद्धिको कामका लागि चुनावी मैदानमा आएको उपाध्याय बताउनुहुन्छ ।

जनताको मत जितेर उच्च मतान्तरका साथ चुनाव जित्ने उहाँको दावी छ । विगतको जस्तो आगामी निर्वाचनमा चुनौतिको महशुस नरहेको उहाँको भनाई छ । ‘आगामी निर्वाचनमा मलाई कुनै चुनौती छैन । भारि मतका साथ चुनाव जित्छु’, उहाँले भन्नुभयो।
विगतमा आफुले गर्न चाहेका तर सत्ता विहिन हुँदा सम्भव नभएका अधुरा कामहरु पुरा गर्ने उपाध्यायको लक्ष्य रहेको छ । उहाँले बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा सहित सिंगो मकवानपुरको विकासलाई सहि दिशामा गति दिन आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।

लामो समय एमाले र कम्युनिटहरुले शासन गरेको मकवानपुरमा २०७० मा कांग्रेसले जितेपछि बसालेको विकासको जगलाई थप मजबुद बनाउनु आफ्नो उद्देश्य रहेको उनको भनाई छ । ‘सडक पुल निर्माण विकासको मेरुदण्ड तर त्यो नै विकास होइन, जनताको आवश्यकता र उनीहरुलाई राज्य भएको अनुभूति गराउनु नै विकास हो’, उहाँले भन्नुभयो, ‘हामी विकास विकास भन्छौ अनि बाटो बनाउँछौ, पुल बनाउँछौ तर आम जनताको स्वास्थ्यको पहुँच कतिको छ ? हामी बिर्सन्छौ । शिक्षाको पहुँच कस्तो छ ? भन्ने बारे हाम्रो ध्यान नै पुग्दैन । जनतकाको जीवन स्तरसंग जोडिएका कुराहरु हामीले सम्बोधन गर्न सकेका छैनौ । जनतालाई सरकारको अनुभूति दिलाउन र उनीहरुले राज्यबाट पाउने सेवामा सहज पहुँच पुर्याउनु मेरो मुख्य काम हो ।’

जनताको दैनिकीसँग जोडिएका कतिपय कुराहरुमा अझै पनि कानुन बाधक बनेको र केही कानुन पुराना भएकाले जनतालाई सेवा दिन नै समस्या भइरहेकोले त्यसको परिवर्तन/संशोधन गर्नु आफ्नो जिम्मेवारी रहेको उहाँले बताउनुभयो । ‘म यस्तो गर्छु उस्तो गर्छु । यो बनाउँछु त्यो बनाउँछु भन्दिन । म सामान्य काम गर्छु जसले जनताको जीवनस्तरमा प्रत्यक्ष सरोकार राख्छ । महिलाहरुलाई अवसर दिएर अघि बढाउँछु । शिक्षाबाट बञ्चित भएकाहरुलाई विद्यालयसम्म जाने वातावरण कानुनतः निर्माण गर्छु । स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन मेरो भूमिका हुन्छ’, उहाँले भन्नुभयो ।

उहाँलेबहेटौँडा उपमहानगरलाई समृद्ध बनाउन औद्योगिकीकरणमा जोडदिँदै युवाहरुको लागि रोजगारको अवसर सृजना गर्नु आफ्नो पहिलो पहिलो प्राथमिकता रहेको बताउनुभयो ।

समान अवसर, न्यायपूर्ण समाजको निर्माण र महिलाको सम्मान, सम्मानित स्वस्थ जीवन र सुरक्षा, ज्येष्ठ नागरिकको हेरचाह, शिक्षा, स्वास्थ्य, कृषि, सहकारी र उद्योग कलकारखानाको विकास र विस्तर, हेटौंडालाई सफा, सुन्दर, हरियाली र भौतिक पूर्वाधार सम्पन्न प्रदेश राजधानी बनाउने, सुशासन, दिगो विकास र राष्ट्र निर्माणमा आफ्नो योगदान रहने उहाँको भनाई छ । आर्थिक समृद्धिका लागि पनि आफुले पार्टी र सदनबाट महत्वपूर्ण भुमिका खेल्ने उहाँले बताउनुभयो ।

मकवानपुरको भूगोलको पहिचान गरेर विकास र समृद्धिको नमूना निर्माण गरिसकेकाले त्यसको सफल कार्यान्वयनका लागि आफ्नो उम्मेद्वारी रहेको उहाँको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*