कुमारी मोक्तानले सुरु गरिन् घरदैलो अभियान

बाइलाइन नेपाल
१७ कार्तिक २०७९, बिहीबार १३:११

हेटौंडा । नेकपा (माओबादी केन्द्र) की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चार्ज तथा प्रदेश सभा मकवानपुर २ (क) का वामलोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कुमारी मोक्तानले हेटौंडा ११ सिमलटारबाट घरदैलो अभियान सुरु गर्नुभएको छ ।

बिहीबार बिहानबाट उहाँले घरदैलो अभियान सुरु गर्दै सिमलटारबासीको समस्या, गुनासो र अपेक्षाहरु सुन्नुभएको थियो । आफ्नो टोलमा मत माग्दै आइपुगेकी मोक्तानसँग स्थानीयहरुले बसोबास गर्दै आएको जमिनको लालपूर्जा छिट्टै उपलब्ध गराउन पहल गरिदन आग्रह गरेका छन् ।

मोक्तानसँगको भेटमा एकसय छ वर्षीय धनमाया पाख्रिनले भन्नुभयो, ‘यो बस्तीमा बाटो, बिजुली ल्याइदिनुभयो । अब जमिनको एउटा पूर्जा दिनुहोला । हाम्रो भोट खेर जाँदैन ।’ अघिल्लो पटक पनि मोक्तनलाई आफुहरुले जिताएर पठाएको बताउँदै उनले फेरि मत दिन पाउने भएपछि खुशी लागेको बताउनुभयो ।

अर्का स्थानीय ८० वर्षीय मनबहादुर तामाङले मोक्तानलाई मकवानपुरको भविष्य बोकेको नेता भन्दै जितको शुभकामना दिनुभयो । घरदैलोको क्रममा स्थानीयहरुले खादा र मालाले मोक्तानलाई स्वागत गरेका थिए ।

सिमलटारको बुद्ध चोकबाट सुरु भएको घरदैलो बिभिन्न टोलमा पुगेर बुद्ध चोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै मोक्तानले यस क्षेत्रको समस्याबारे आफु परिचित रहेको र लालपूर्जा उपलब्ध गराउन आफुले सकेको पहल गर्ने बताउनुभयो । ‘तपाईहरुले तटबन्धन र सडक स्ल्याप माग्नुभयो, त्यो पुरा भएको छ, अब जग्गधनी लालपूर्जाको लागि पनि म तपाईहरुसँगै रहेर पहल गर्नेछु’, मोक्तानले भन्नुभयो, ‘गठबन्धनलाई विजयी गराइदिनुहोला । हाम्रो सरकार बनेपछि तपाईहरुका धेरै अपेक्षा हामी पुरा गर्नेछौं ।’

सिमलटारमा मकवानपुरको बिभिन्न क्षेत्रबाट आएर बसोबास गरेका करिब दुई हजार परिवार रहेको छ । नेकपा माओवादी केन्द्रको पहलमा यस क्षेत्रमा भूमिहिनहरुको बस्ती बसालिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*