७० अंकमा ट्रायल पास हुने व्यवस्था परिमार्जन नभई लागू हुँदैन-  मन्त्री दाहाल 

बाइलाइन नेपाल
४ कार्तिक २०७९, शुक्रबार ०७:३४

सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा नयाँ मापदण्ड लागू गर्ने गरी निर्देशिका जारी भएको झन्डै दुई वर्ष भइसकेको छ।

यातायात व्यवस्था विभागले ट्रायलमा ७० अंक ल्याए उत्तीर्ण हुने व्यवस्थासहितको ‘लिखित तथा ट्रायल परीक्षा, सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशिका-२०७७’ चैतमा जारी गरेको हो।

विभागले २०७८ जेठदेखि नै निर्देशिकामा भएको व्यवस्था कार्यान्वयन गर्ने बताएको थियो। तर कोभिड महामारीका कारण जेठदेखि लागू हुन सकेन। त्यसपछि मंसिरदेखि लागू हुने विभागले बताएको थियो। उक्त व्यवस्था मंसिर १६ गतेदेखि कार्यान्वयन गर्न केन्द्र सरकारले प्रदेशहरूलाई पत्राचार गरेको थियो। तर यस्तो व्यवस्था सबै प्रदेश सरकारले लागू गर्न सकेका छैनन्।

विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरूका अनुसार प्रदेश नम्बर एक, गण्डकी र सुदूरपश्चिम प्रदेशमा मात्र यो व्यवस्था लागू भएको छ। बाँकी चार प्रदेशका यातायात कार्यालयहरूले ट्रायल उत्तीर्ण हुन शतप्रतिशत अंक ल्याउनुपर्ने व्यवस्थाअनुसारै परीक्षा सञ्चालन गरिरहेका छन्। लिखित परीक्षा पनि पुरानै प्रणालीअनुसार भइरहेको छ।

बागमती प्रदेशले भने हाल यो व्यवस्था लागू गर्नै नसक्ने बताएको छ। बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले नयाँ मापदण्ड परिमार्जन भएपछि मात्रै लागू गर्न सकिने बताए।

‘केन्द्रले आफैं अलमल हुने नीति ल्याएको छ। लागू गर्नेबित्तिकै फेरि परिमार्जन गरिहाल्नुपर्ने खालको मापदण्ड किन लागू गर्ने,’ उनले भने, ‘बरू सुरूमै निधो गरेर लागू गरौं न भनेर हामी बसेका हौं।’ निर्देशिकामा अंक दिने र काटिने व्यवस्था अस्पष्ट भएकाले यो निर्देशिक तत्काल लागू गर्न नसकिने उनको भनाइ छ।

‘ट्रायलमा केके गर्दा कति अंक दिने भन्ने व्यवस्थामा चित्त बुझेको छैन। यातायात विभाग पनि परिमार्जन गर्न सकारात्मक देखिएको छ,’ मन्त्री दाहालले भने, ‘यस विषयमा थप छलफलका लागि प्रदेश सचिव जाने कार्यक्रम छ।’

निर्देशिका परिमार्जन भई चित्तबुझ्दो भएमा तत्काल यो व्यवस्था लागू गर्न प्रदेश सरकार तयार रहेको उनले बताए।

हाल निर्देशिकामा यस्तो छ व्यवस्था

निर्देशिकामा वर्ग ‘क’ (ए) मोटरसाइकल, स्कुटर, मोपेड र वर्ग ‘ख’ (बी) कार, जिप, डेलिभरी भ्यानको लाइसेन्स लिने सहज व्यवस्था गरिएको छ।

निर्देशिकाको दफा ५ (२) बमोजिम वर्ग (क/ट), (ए/के) र वर्ग ‘ख’ (बी) का लागि लिइने लिखित परीक्षाका लागि ५००/५०० वटा प्रश्नको दुइटा प्रश्न संग्रहसमेत विभागले सार्वजनिक गरेको छ।

यो व्यवस्थाअनुसार लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्था सम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियम पालना तथा सवारी साधनको प्राविधिक पक्ष सम्बन्धी सामान्य व्यावहारिक ज्ञानका विषय समेटी १०० पूर्णांकको प्रश्न सोधिनेछ। यसमा चार/चार अंकका २५ वटा वस्तुगत उत्तर दिने प्रश्न हुन्छन्।

लिखित परीक्षाको अवधि ३० मिनेटको हुनेछ। सम्बन्धित कार्यालयले विद्युतीय माध्यमबाट समेत लिखित परीक्षा सञ्चालन गर्न सक्ने व्यवस्था छ। निर्देशिकामा भएको व्यवस्थाअनुसार परीक्षार्थीले ट्रायलमा ७० अंक ल्याए लाइसेन्स प्राप्त गर्न सक्छन्।

यसअघि विभागले परीक्षार्थीले आफ्नै सवारी समेत प्रयोग गर्न सक्ने व्यवस्था गरेको थियो। तर यो व्यवस्था कार्यान्वयनमा नआउँदै संशोधन गरिएको छ। अब कार्यालयले तोकेका तथा उपलब्ध गराएका सवारी मात्र प्रयोग गर्न सकिन्छ।

ट्रायलका लागि प्रयोग हुने मोटरसाइकल–स्कुटर पेट्रोलबाट चल्ने र कार, जिप, भ्यानहरू पेट्रोल, डिजेल वा ग्यासबाट चल्ने हुनुपर्नेछ। त्यस्तै सबै सवारी दर्ता प्रमाणपत्र अद्यावधिक भएको वा बहाल अवधि बाँकी रहेको तथा तेस्रो पक्ष बीमा भएको हुनुपर्नेछ।

प्रयोगात्मक परीक्षा १०० पूर्णांकको हुनेछ। यसको अंकभार यसप्रकार छः

घुमाउरो आठ- २० अंक।

साँघुरो फलेक- १० अंक।

युटर्न- १० अंक।

ट्राफिक संकेत- १५ अंक

बम्प्स (उबडखाबड)- १५ अंक।

उकालो- २० अंक।

परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकन- १० अंक।

यस्ता छन् ट्रायलमा अंक काटिने अवस्थाहरूः

घुमाउरो आठमा एक पटकसम्म अंकित रेखा छोएमा ५ अंक घट्ने छ।

एकपटकसम्म खुट्टाले भुइँ टेकेमा थप ५ अंक घट्ने छ।

युटर्नमा टर्निङ इन्डिकेटर लाइट नबाले १० अंक घट्ने छ।

ट्राफिक संकेत पालना नगर्दा १५ अंक घट्ने छ।

उबडखाबडमा एक पटकसम्म भुइँमा टेकेमा ५ अंक घट्ने छ।

एकपटक सवारीको स्टार्ट बन्द भए ५ अंक घट्ने छ।

सवारी चलाउनु अगाडि सवारीको ब्रेक, टायर र ऐनाहरूको सामान्य निरीक्षण गर्नुपर्नेछ। यसो नगरे ३ अंक घट्नेछ।

हेलमेटको लक नलगाई सवारी चलाएमा ४ अंक घट्नेछ।

असंयमित भएर सवारी चलाए ३ अंक घट्नेछ।

फेल हुने अवस्थाहरूः

एकपटक भन्दा बढी भुइँमा टेके अर्थात् स्टार्ट बन्द भएमा।

एकपटक भन्दा बढी अंकित रेखा छोएमा वा खुट्टा भुइँमा टेकेमा।

ठीक दिशाबाट ठीक तरिकाले ८ नबनाएमा।

सवारीको स्टार्ट बन्द भएमा।

साँघुरो फलेकमा खुट्टाले भुइँ टेक्दा अर्थात् फलेकको लम्बाइ पार गर्नुअगाडि नै सवारी फलेक बाहिर निस्किएमा।

उकालोमा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अगाडि बढेमा वा रोकिएको अवस्थाबाट सवारीको पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा।

उकालो सकेर ओरालो झर्ने क्रममा तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढे फेल भइनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*