एमाले सचिव नविन सिग्देललाई आफ्नै कार्यकर्ताले किन कुटे ?

बाइलाइन नेपाल
७ भाद्र २०७९, मंगलवार २१:५२

हेटौंडा । नेकपा एमालेका जिल्ला सचिव तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ का वडा अध्यक्ष नविन सिग्देल माथि आफ्नै कार्यकर्ताले कुटपिट गरेका छन् । वडा कार्यालयको आफ्नै कार्यकक्षमा एमालेकै जिल्ला सदस्य सानु लामा दोङले कुटपिट गरेका हुन् ।

कुटिएपछि सिग्देलले लामालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दर्ता गराएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले सानु लामा दोङले आफूमाथि कुटपिट गरेको भन्दै वडा अध्यक्ष सिग्देलले उजुरी दर्ता गरेको जानकारी दिए ।

‘उजुरी दर्ता गरेलगत्तै प्रहरीले लामालाई पक्राउका खोजी गरिरहेको जनाएको छ । ‘ उहाँको मोबाइल अफ छ, घरमा हुनुहुन्न । हामीले खोजी गरिरहेका छौं,’ प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले भने । उनले भने– ‘उहाँहरुको पार्टीगत कुरा रहेछ । आफूमाथि हातपात भएकाले कारबाहीको माग गर्दै वडाध्यक्षले उजुरी दिनुभएको छ । कुटपिट गर्ने लामालाई हामी खोजिरहेका छौं ।’

वडाध्यक्ष सिग्देलले आफूमाथि कुटपिट हुनु गलत भएको प्रतिक्रिया दिएका छन् । उनले कानुनी उपचारका लागि प्रहरीमा उजुरी दिएको बताए ।

अहिलेसम्म कुटपिटको कारण खुल्न सकेको छैन् । पार्टीको आन्तरिक कारण भनिएपनि भुटनदेवी माविको सटर भाडामा दिने विषयमा सिग्देल र लामा बीच विवाद भएको स्रोतले जनाएको छ । तर एमाले सचिव सिग्देलले आफुलाइृ कुटपिट गर्नुको कारण खुलाएका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*