तपाइँ हेटौंडा अस्पतालमा जचाउँन जाँदै हुनुहुन्छ ? अब अनलाईनबाटै टिकट लिनुस्

बाइलाइन नेपाल
७ भाद्र २०७९, मंगलवार १८:२०

हेटौंडा । हेटौंडा अस्पतालमा अब अनलाइनबाटै टिकट लिएर स्वास्थ्य सेवा लिन सकिने भएको छ । हेटौंडा अस्पताल र राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौंको सेवा डिजिटलाइज गरेपछि यस्तो सुविधा सुरु भएको हो ।

अब ती दुई अस्पतालको टिकट अनलाइनमाध्यमबाट लिन सकिने भएको छ । यो सेवापछि अस्पतालमा जचाउँन बिहानैदेखि घण्टौँ लाइन बस्नुपर्ने सास्तीबाट बिरामीले छुटकारा पाउनेछन् । यो सेवा स्वास्थ्यक्षेत्र अन्तर्गत मिदास टेक्नोलोजी सफ्टवेरमार्फत शुरू गरिएको हो ।

बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तानी गर्न सक्षम हुने हुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत हुने मिडासले जनाएको छ । विश्वमा जारी कोरोना महामारीको समयमा यो सेवा झनै बढी प्रभावकारी हुने विश्वास लिइएको छ ।

हेटौंडा अस्पतालमा टिकट लिनकै लागि घण्टौं लाइनमा बस्नुु पर्ने कारण सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । अनलाईनबाटै टिकट लिएर जाँदा टिकटका लागि लाईनमा बस्नुुपर्ने झन्झटबाट सर्वसाधारणले मुक्ति पाउने भएका छन् । जसका कारण स्वास्थ्य सेवा लिन सहज हुने अस्पताल प्रशासनले जनाएको छ ।

अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईँले अनलाईन सेवा प्रभावकारी बन्दै गएको बताए । सर्वसाधारणमा विस्तारै यो प्रणाली उपयोग गर्ने बानी पर्ने उनको भनाई छ । अहिले बीमा नभएकालाई मात्र यो सेवा रहेको उनले जानकारी दिए । अस्पतालले केही समयमै बीमा गरेकाहरुलाई पनि अनलाईनबाटै टिकट लिन सक्ने व्यवस्थाका लागि काम गरिरहेको सदस्य चौलागाईंले जानकारी दिए ।

यो सेवा हाललाई टिचिङ अस्पताल, वीर अस्पताल, सिभिल सर्भिस अस्पताल, मनमोहन कार्डियो, विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरानका लागि उपलब्ध रहेको बताइएको छ । मिदास टेक्नोलोजीले अन्य सरकारी तथा निजी अस्पतालहरूको समेत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको जनाएको छ ।

हाल, मिदास टेक्नोलोजीले मेरो डाक्टर मोबाइल एप तथा वेभ मेरोडाक्टरडटकममार्फत अनलाइन टेलिमेडिसन सेवा समेत प्रदान गर्दै आइरहेको छ । साथै, मेरो डाक्टर मोबाइल एप तथा वेभमा उपलब्ध केही पूर्णकालीन चिकित्सकहरूसँग बिरामीले दैनिक रूपमा बिहान ७ः०० बजेबाट राति ९ः०० बजेसम्मको समयमा तत्काल निः शुल्क परामर्श लिन सक्नु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*