हेटौंडामा आज जीवन शर्माको एकल साँझ,मकवानपुरगढीमा सम्मान

बाइलाइन नेपाल
२९ असार २०७९, बुधबार ०६:४४

हेटौंडा । जनवादी गायक जीवन शर्माको एकल साँझ कार्यक्रम आज हेटौँडामा आयोजना हुँदैछ । प्रगतिशील लेखक संघ मकवानपुरको आयोजनामा हेटौंडा–४ मा रहेको रोयल पार्टी प्यालेसमा अपरान्ह ४ बजेबाट उनको प्रस्तुति रहने छ।

चार दशकभन्दा लामो समयदेखि अनवरत रूपमा जनताका पक्षमा गीत गाउँदै आएका शर्माको यो हेटौँडामै पहिलो एकल गायन प्रस्तुति हो । २०३६ साल पश्चात नेपालका गाउँगाउँमा पुगेर गीतहरूमार्फत् जनताहरूलाई सुसूचित र राजनीतिक रुपमा सचेत बनाउन अनवरत रुपमा लागि रहेका शर्माका हालसम्म दुई हजारभन्दा बढी गीत रेकर्ड छन् ।

शर्माका ‘सिमली छायाँमा बसी भरिया लामो सास फेरेको‘’, ‘झरनाको चिसो पानी‘।’, ‘चाहिँदैन मलाई सिसाको महल‘’ लगायत अनेकौं गीतहरूआमनागरिकको मनमा बस्न सफल भएका छन् ।

कार्यक्रममा प्रवेशका लागि एक सय (विद्यार्थीका लागि), तीन सय र पाँच सय दरका टिकटहरूको व्यवस्था गरिएको प्रगतिशील लेखक सङ्घ मकवानपुरका अध्यक्ष श्रीराम अधिकारीले जानकारी दिए।

यसैबीच जनवादी गायक शर्मालाई आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा आज बुधबार नै मकवानपुरगढी गाउँपालिकामा सम्मान गरिने भएको छ । बासुदेव रिजाल स्मृति प्रतिष्ठान मकवानपुरको आयोजनामा मकवानपुरगढी गाउँपालिका–३ मा रहेको भानु माविमा बिहान ११ बजे आयोजना हुने साहित्यिक कार्यक्रममा शर्मालाई सम्मान गर्न लागिएको हो ।

जनवादी गायक शर्मालाई बासुदेव रिजाल स्मृति साहित्य सम्मानसहित नगद १५ हजार रुपैयाँ नगद राशी प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष आरसी रिजालले जानकारी दिए । यसैगरी प्रतिष्ठानले बासुदेव भानु स्मृति साहित्य सम्मान छन्दकवि ठाकुर शर्मालाई प्रदान गरिने भएको छ । जसको नगद राशी पनि १५ हजार रहेको छ ।

उक्त अवसरमा गाउँपालिका स्तरिय मावि तहका विद्यार्थी बीच कविता प्रतियोगिता पनि आयोजना गरिएको प्रतिष्ठानकी सदस्य अनिता न्यौपानेले जानकारी दिइन् । प्रतिष्ठानले विद्यालयमा आदिकविको प्रतिमा स्थापना गरेर हरेक वर्ष साहित्यक कार्यक्रम आयोजना गर्दै आएको उनले बताईन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*