नवोदयमा म्याथ क्याम्प फायर, गणित जीवन उपयोगी शिक्षा

बाइलाइन नेपाल
२१ असार २०७९, मंगलवार १८:५७

हेटौंडा । निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मकवानपुरका अध्यक्ष विनोद सुवेदीले गणित विषयलाई जीवन उपयोगी शिक्षाको रुपमा लिनुपर्नेमा बताएका छन् ।

आज मङ्गलबार हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन विद्यालयको गणित समूहले आयोजना गरेको ‘म्याथ क्याम्प फायर’ कार्यक्रममा अध्यक्ष सुवेदीले हरेक क्षेत्रमा प्रयोग हुने गणितलाई बढी सरल, प्रायोगिक, सिर्जनात्मक बनाउनु र प्रत्येक पाइलामा प्रयोग गर्न ‘आइडिया’ निकाल्न सक्ने जनशक्ति निर्माण गर्नु गणितको मुख्य उद्देश्य रहेको बताए ।

उनले नवोदयले गर्ने क्याम्प फायरले गणित कति व्यवहारिक र हाम्रो जीवनमा महत्पूर्ण रहेछ भन्ने सिक्क सहयोग गरेको उल्लेख गर्दै भने– ‘गणित कठिनाई विषय होइन । यसलाई हामी आफैँले कठिनाइ बनाएका हौँ । गणितलाई कठिनाइको रुपमा नहेरी सकरात्मक रुपले कार्य पूरा गरेमा नतिजा पनि सकरात्मक आउने छ ।’

नेपाल शिक्षक महासंघ हेटौंडाका अध्यक्ष दीपक अधिकारीले दैनिक जीवनमा गणित विषय कसरी प्रयोग हुन्छ भन्ने विषयमा जोड दिएका थिए । नवोदय विद्यालयका विद्यार्थीले प्रस्तुत गरेको सौर्य प्रणाली गणित विषयमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने प्रस्तुती तारिफ योग्य रहेको उनले बताए ।

नवोदय गणित समूहका अध्यक्ष एल्जीना दङ्गालको सभाध्यक्षतामा भएको नवोदय म्याथ क्याम्प फायर कार्यक्रममा २४ वटा स्टल विद्यालयको प्राड्गणमा राखिएको थियो ।

जसमा आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुले हलो, ढिक्की र मादल निर्माण गर्दा गणित विषयको प्रयोगको विषयमा प्रस्तुती दिएका थिए भने कमाने एकेडेमी विद्यालयका विद्यार्थीले ‘द म्याथ अफ आवर युनिभर्स’ सम्बन्धी सामग्री स्टलमा राखेका थिए ।

यसैगरी नवोदय विद्यार्थीले सांस्कृतिक कला, व्रम्हाण्ड र प्राकृतिसँग गणित कसरी जोडिएको छ भन्ने सामग्री जस्तै (चरेसको थाल, ग्यालेक्सी, गितार, साराङ्गी, रङ्गोली, हिमालय श्रृङ्खला, ट्याली हाउस) लगायत स्टलमा प्रस्तुत गरेका थिए ।

कार्यक्रमले गणित विषयलाई फरक–फरक दृष्टिकोणबाट हेर्न र सिकाउनका लागि मद्धत मिल्ने भएकोले गर्दा नवोदय गणित समूहले कार्यक्रम गर्दै आइरहेको छ । म्याथ क्याम्फायर कार्यक्रमबाट पढाइमा सहयोग मिल्नुको साथै अनुसन्धान गरी वस्तुको अवस्थाको बारेमा जानकारी प्राप्त हुने भएकाले यो कार्यक्रम बढी प्रभावकारी हुने नवोदयका गणित शिक्षक गोपाल घिमिरेले बताए ।

गणित उपयोगिताबारे हुने कार्यक्रम म्याथ क्याम्पफायर कार्यक्रम नवोदय गणित समूहको चौथो कार्यक्रम हो । विद्यालयका सहायक प्रधानाध्यापक दुर्गा भट्टराईले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*