यसवर्ष रुपचन्द्रको स्मृति दिवस हेटौंडा,पालुङ र काठमाडौमा मनाईंने
हेटौंडा । थाहा अभियानका प्रणेता रुपचन्द्र विष्टको स्मृतिमा यसवर्ष मकवानपुर र काठमाडौंमा विभिन्न कार्यक्रमको आयोजना गरेर मनाईंने भएको छ ।
आज सोमबार रुपचन्द्र विष्ट स्मारक समिति नेपालको हेटौंडामा बसेको केन्द्रीय कमिटीको विस्तारित बैठकले रुपचन्द्रको स्मृति दिवस असार ७ गते मकवानपुरको हेटौंडा, विष्टको जन्मथलो पालुङ र काठमाडौंमा मनाउँने निर्णय गरिएको हो । उनको निधन २०५६ साल असार ७ गते ६६ वर्षको उमेरमा भएको थियो ।
यसअघि रुपचन्द्रको स्मृति दिवसमा पालुङमा निरन्तर र कहिलेकाही काठमाडौंमा मनाईदै आएको थियो । हेटौंडामा रहेको रुपचन्द्र विष्ट स्मारक समितिको आफ्नै भवनमा बसेको बैठकले बहस, अन्र्तक्रिया तथा सामाजिक काम गरेर असार ७ गते उनको सम्झना मनाउने निर्णय गरेको हो । समितिको भवन हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा रहेको छ ।
थाहा नगरपालिकाको पालुङमा रुपचन्द्र विष्टको पूर्णकदको प्रतिमा निर्माण गरिएको छ । विष्टले नेपाली समाज र राजनीतिमा छुट्टै पहिचान बनाएका छन् । उनले सर्वसाधारणमा थाहा आन्दोलनमार्फत् चेतनाको विगुल फुकेका थिए । जसले जनप्रतिनिधि र सर्वसाधारण देश र समाजप्रति ईमान्दार हुनुपर्ने शिक्षा दिन्छ ।
समितिका केन्द्रीय अध्यक्ष रामनारायण विडारीको सभाध्यक्षताम भएको बैठकले अन्य निर्णय पनि गरेको छ । बैठकले समितिको केन्द्रीय कमिटीको सल्लाहारमा मकवानपुरका हरिबहादुर महतलाई मनोनयन गरेको छ । उनी हेटौंडा उपमहानगरपालिकाका निवर्तमान मेयर हुन् । यस्तै केन्द्रीय समितिको सदस्यमा एकराज उप्रेतीलाई मनोनयन गरिएको छ । उनी मनहरी गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् ।
यस्तै बैठकले हेटौडा र आसपासका पालिकालाई समेट्दै रुपचन्द्र विष्ट स्मारक समिति गठन गरेको छ । जसमा शुक्रराज राजथला, विजय गौतम, कमला पौडेल, सुवास बर्तौला, टिकाप्रसाद दुलाल, बलारम विक, बच्चु उप्रेती, श्यामकृष्ण बर्तौला, यज्ञप्रसाद तिमल्सिना, ललिता श्रेष्ठ, गोपाल सुवेदी रहेका छन् । यस कमिटीको सल्लाहाकारमा प्रकाश पौडेल, रञ्जना श्रेष्ठ, दीलबहादुर अधिकारी चयन भएका छन् ।
समितिका केन्द्रीय अध्यक्ष तथा थाहा आन्दोलनका सारथी रामनारायण विडारीले रुपचन्द्र विष्टले वर्षै अघि भनेकुरा अहिले पनि सान्र्दभिक रहेको बताए । रुरुपचन्द्रले देखाएको बाटोमा हिँड्न नसक्दा देश अहिलेको अवस्थामा पुगेको उनको भनाई छ । अब रुपचन्द्रका भनाई, गराई र भोगाईलाई विश्वसामु पुर्याउने काम समितिले थालेको जानकारी दिए ।
विश्वले रुपचन्द्रको थाहा आन्दोलन, सिद्धान्त, नीति र विचार कस्ता थिए भन्ने कुरा अब अध्ययन गर्न पाउने अध्यक्ष विडारीले बताए । जसका लागि समितिले वेवसाईट निर्माण गरेको र असार ७ गते काठमाडौं आयोजना हुने कार्यक्रमबाट त्यसको सुरुवात हुने जानकारी दिए । समितिले यसअघि रुपचन्द्र विष्टका बारेमा पुस्तक समेत प्रकाशन गरिसकेको छ ।
बैठकमा अध्यक्ष रामनारायण विडारी, एकराज उप्रेती, हरिबहादुर महत, लवशेर विष्ट, विजय गौतमलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
को हुन् रुपचन्द्र विष्ट ?
मकवानपुरका रुप्चन, रुदाने, स्वरूपे आदि नामबाट चिनिने रूपचन्द्र विष्टको जन्म बाबु पदमबहादुर विष्ट र आमा चित्रकुमारीबाट वि.स. १९९० पौष २६ मा भएको हो । उनी एक सम्भ्रान्त परिवारका सदस्य थिए । विष्ट मकवानपुरलाई आफ्नो कार्यक्षेत्र बनाएर चेतना फैलाउने शिक्षावादी, जनबादी नेता थिए ।
विष्टले पारिवारिक विचार भन्दा फरक कम्युनिस्ट राजनीति स्कुले जीवनबाटै शुरु गरे । वि.स. २००७ देखि २०१० सम्म कम्युनिस्ट विद्यार्थी राजनीतिमा सक्रिय रहे । २०१० देखि २०१७ सालसम्म किसान र मजदुरहरूको पार्टीमा क्रियाशील रहे ।
त्यसैगरी २०१७ देखि २०२६ सालसम्म उनको सक्रियता बिद्यार्थी र किसान क्षेत्रमा रह्यो । १७ सालपछि २२ र २९ सालमा मकवानपुरको पालुङ गाउँ पञ्चायतका प्रधानपञ्च रहे र पछि २०२८ सालमा स्नातक कोटामा राष्ट्रिय पञ्चायत सदस्य भए ।
उनले बीए र बीएल सम्म औपचारिक अध्ययन गरे र पछि सरकारको असहयोग रहेकोले भारतमा स्वनिर्वा्सित भएर पूर्वीय दर्शनको अध्ययन गरे ।
जेलजीवन र गिरफ्तारी
उनको बिचार जनवादी भएकाले राष्ट्रिय पञ्चायत सदस्य रहँदा समेत उनलाई गिरफ्तार गरियो । पटक पटक गिरफ्तार भए पनि जनमुखी राजनीतिमा पूर्ण प्रतिवद्ध रहे । साधारण जीवन रुचाउने उनले बिबाह गर्दा समेत पाहुनालाई चिया मात्र खुवाए । दुई सन्तान भएका उनको पछि सम्बन्ध बिच्छेद भयो ।
धेरै पटक राजद्रोह लगायत अन्य आरोपमा पक्राउ परेका बिष्टलाई तत्कालिन पञ्चायती सरकारले धेरै पटक जेल हालेको थियो । नेपालमा भने उनी बेपत्ता भएको समय उनी मारिएको शंका समेत गरिएको थियो । फर्केपछि मकवानपुरको दामनमा प्राकृतिक बिज्ञानको ८ वर्ष स्वअध्ययन गरे । उनी स्थानीय बिद्यालयमा प्रधानाध्यापक भए । बिहान बेलुका प्रौढ शिक्षा समेत चलाए ।
०३८ र ०४३ सालमा मकवानपुरबाट तत्कालीन राष्ट्रिय पञ्चायतमा प्रतिनिधित्व गरेका विष्ट फोटो होइन, विचार राखेर निर्वाचन लड्थे । विष्ट मुलुकमा रहेको मण्डलेतन्त्रको मात्र होइन, घर, टोल, गाउँ र दलभित्र रहेको मण्डलेतन्त्रको पनि प्रखर विरोधी थिए । केही समय विष्टसँग जेलमा बसेका वर्तमान प्रधानमन्त्री केपी ओली यसरी सम्झन्छन् विष्टलाई, ‘उनी महान् मान्छे थिए, जीवनको विशेषता जनशैली, राजनीतिको विशेषता जनमुखी । यी रूपचन्द्रका विशेषता हुन् ।’
थाहा आन्दोलनको सुरुवात
वि.सं. ०२९ र ३० सालतिर रूपचन्द्र विष्टले थाहा आन्दोलन सुरू गरे । रूपचन्द्र र उनका सहकर्मीका हातबाट चट्टान, भित्ता, पर्खाल, रूखदेखि खाली कागज र चुरोटको बट्टासम्ममा ‘थाहा’ लेखिए ।
‘थाहा’ नेपाली छाप्राहरूमा पुगेको पहिलो दार्शनिक आन्दोलन थियो । यस आन्दोलनको सबभन्दा महत्वपूर्ण विशेषता के थियो भने यसमा कुनै पनि प्रकारको सैद्धान्तिक क्लिष्टता या अस्पष्टता थिएन । यस आन्दोलनको सार नै यसका प्रवर्तकको रुखो बोली र ठाडो आग्रह थियो ।
उनी भन्थे, ‘थाहा पा भाते ! जान् भाते ! बुझ् भाते !’ थाहा आन्दोलनको मूल लक्ष्य भनेको चेतनाहीन जनतालाई चेतना सम्पन्न नागरिकमा रूपान्तण गरी राजनीतिक र सामाजिक जागरण गर्नु हो ।’
शिक्षामा उनको योगदान
रुदाने, जसरु, रापसरु, स्वरूपे, जस्ता उपनामले परिचित विष्टले २०२८ सालमा मकवानपुरको उत्तरी क्षेत्रमा शिक्षा आन्दोलन चलाएका थिए । रूपचन्द्र विष्ट मकवानपुरमा आफ्नो कार्यक्षेत्र र चेतना फैलाउने शिक्षावादी, नारीवादी र जनवादी नेता थिए । ‘छोरा पढाउने, छोरी नपढाउने मुर्दावाद–छोराछोरी दुवै पढाउने जिन्दावाद’ भन्ने जस्ता नाराका साथ विष्टले चलाएको आन्दोलनले समाजमा परिवर्तन ल्याउन सहयोग गरेको थियो। उनले छोराछोरी स्कुल नपठाउने अभिभावकलाई जरिवाना तिराउने व्यवस्था समेत गरेका थिए ।
‘थाहा’ एक दर्शन हो
रूपचन्द्र विष्ट त्यस्ता नेपाली थिए, जो राजनीति गरेर राजनीतिज्ञ कहलिएनन् । श्रम गरेर पनि श्रमिक भनिएनन्, साहित्य लेखेर साहित्यकारमा दरिएनन् । मौलिक दर्शन स्थापित गरेर पनि दार्शनिक भनिएनन् ।
उनलाई एक सनकी मान्छेका रुपमा तत्कालिन शासकले उनलाई चित्रण गर्यो । थाहा अभियानका त्यतिवेलाका एक अभियन्ता मदन राई थाहा अभियानलाई नेपाली माटोमा जन्मिएको दर्शन भन्छन् ।
एक अराजक मान्छे ‘विष्ट’
सामान्यरूपले हेर्दा रूपचन्द्रका केही क्रियाकलाप अराजकजस्ता लाग्दछन् । यसका केही नमुना हेरौँ‘उनी पञ्चायती व्यवस्थाविरोधी एजेण्डा बोकेर चुनाव जित्थे । चुनावी पर्चा सित्तैमा नदिएर बिक्री गर्थे । जनतालाई तिमीहरू भाते कुकुर हौ भनेर भोट माग्थे ।
‘भाते कुकुर’ शब्द सम्माननीय शब्दका रूपमा उनले प्रयोग गरेका हुन् । ‘भाते कुकुर’ शब्दको अभिधा अर्थ खराब भए पनि यी शब्दले पुकारिने मानिस असल हुने गर्थे । कुकाम गर्नेहरूले कहिल्यै यस खाले सम्बोधन पाएनन् । भ्रष्टचारीलाई उनी खुलेरै भ्रष्टचारी भन्थे, गद्दारलाई गद्दार नै भन्थे । छोराछोरीलाई नपढाउनेलाई श्रमसजायको दायरामा ल्याउँथे ।
पञ्चायतलाई शोषक, फटाहाहरूको अराजक व्यवस्था भन्थे । नेतानेतृ सम्माननीय हुन जनता जाननीय हुनुपर्छ भन्ने उनको मत छ । उनले राष्ट्रिय पञ्चायतदेखि आमसभा र सर्वसाधरण एवं शासकहरूसँग एकै किसिमको भाषा बोले । चाहे सर्वसाधारण हुन् या शासक प्रशासकहरू नै किन नहून् सबैलाई तँ भन्थे, तिमी विरलैलाई भन्थे । तपाईँ भन्ने खालका मानिसहरू उनको नजरमा विल्कुलै कम थिए ।
रूपचन्द्र विष्टले जीवनको उत्तराद्र्धकालसम्म पनि अभियानलाई निरन्तरता दिइरहे । आफू झुप्रेझाम्रे भएकोले सोही बमोजिमको सामान्य ठाउँमा उपचार गर्न र मरेपछि विल्कुलै सामान्य वर्गकोझैँ अन्तेष्टी गर्न अह्राएका थिए ।
सहयोगीलाई आफ्नो मृत लासमा अविर, माला नलगाउन, काजक्रिया नगर्न र लासको राजनीति नगर्न समेत भनेका थिए । नेपाली माटोले चिन्न नसकेको तीनै महान व्यक्तिको मृत्यु २०५६ साल असार ७ गते ६६ वर्षको उमेरमा भएकाे थियाे ।