जिसस मकवानपुरको निर्वाचन गराउन आयोगलाई सिफारिस

बाइलाइन नेपाल
२६ जेष्ठ २०७९, बिहीबार ०६:५२

हेटौंडा जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको बुधवार बसेको बैठकले निर्वाचन आयोगलाई निर्वाचन गराइदिन सिफारिस गर्ने निर्णय गरेको छ ।

ज्येष्ठ सदस्य देवकृष्ण पुडासैनीको अध्यक्षतामा बसेको बैठकले ९ सदस्यीय समिति गठन हुने गरी निर्वाचन प्रक्रिया सम्पन्न गराइदिन निर्वाचन आयोगसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले स्थानीय तहको निर्वाचन २०७९ सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन अधिकृत र मतदान अधिकृत तथा निर्वाचन प्रक्रियामा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेको छ । बैठकले जिससका पूर्व पदाधिकारीलाई धन्यवाद ज्ञापन गर्ने निर्णय समेत गरेको छ ।

जिससको निर्वाचनमा मकवानपुरका १० वटा पालिकाका प्रमुख र उपप्रमुख गरी कूल २० जना मतदाता रहने व्यवस्था रहेको छ ।

स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको संख्या हेर्दा नेपाली कांग्रेसका ९, नेकपा माओवादी केन्द्रका ७, नेकपा एमालेका ३ र नेकपा एकीकृत समाजवादीका १ जना मतदाता छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*