थाहाका युवाले मेयर विष्टलाई बुझाए ‘विकासको साँचो’

राजकुमार केसी
२० जेष्ठ २०७९, शुक्रबार १७:४०

थाहा । थाहा नगरको समग्र विकासका लागि सबै पक्षसँग सहकार्य गरेर अगाडि बढ्ने नगर प्रमुख (मेयर) बिष्णुबहादुर विष्टले बताएका छन् ।

नगर प्रमुख विष्टले थाहा नगरको समृद्धिको लागि प्राप्त सकारात्मक सुझावहरुको कार्यान्यनको लागि आफु प्रतिबद्ध रहेको बताए । थाहा नगरका युवाहरुले थाहा नगरपालिकाका प्रमुख तथा उपप्रमुख समक्ष ध्यानाकर्षण पत्र सहित विकासको साँचो बुझाउने कार्यक्रममा प्रमुख विष्टले बजेट सिलिङको आधारमा समेटन सकिने योजनाहरु कार्यान्वयन गर्ने बताएका हुन्।

शुक्रबार युवाहरुले नगरप्रमुख विष्टको कार्यकक्षमा पुगेर ध्यानाकर्षण पत्र र साँचो बुझाएको स्थानीय युवा बिक्रम केसीले बताए । ध्यानाकर्षण पत्रमा थाहा नगरपालिकाको समग्र क्षेत्रको बिकासको लागि स्थानीय जनप्रतिनिधिहरुलाई आग्रह गरिएको छ ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, “बागमती प्रदेशको राजधानी हेटौंडा र संघिय राजधानी काठमाडौबाट समदुरिमा रहेको थाहा नगरपालिका कृषि, धार्मिक, पर्यटन क्षेत्रको सम्भावना प्रचुरमात्रामा रहेको तथा तत्कालिन आग्रा, दामन, पालुङ, टिस्टुङ, बज्रबाराही, चित्लाङ गाबिस मिलेर बनेको नगरपालिका बत्तिमुनिको अँध्यारो भएको भएको छ ।”

“कृषि, पर्यटन र पुर्वाधार, थाहा नगरको बिकासको आधार” नारामा मात्र सिमित भई कृषिमा रासायनिक मलको अभाव, पर्यटनमा पहाडको रानी भनेर चिनिने दामन सिमभन्ज्याङ क्षेत्र अस्तब्यस्त, कृषि बजारको अभाव, बीउ, सिँचाइको प्रयाप्त मात्रामा ब्यबस्था नहुनु र थाहाको समृद्धिको नारा चुनावी नारामा मात्र सिमित नहोस भन्दै ध्यानाकर्षण गरिएको छ ।

आगामी ५ बर्षमा थाहाका जनताले महसुस हुने गरि दीर्घकालिन फाइदा तथा रोजगारीको अबसर सृजना गरि औद्योगिकरण गर्दै अव्यवस्थित रुपमा भएका सडक ब्यबस्थित गर्दै उत्कृष्ट नगर बनाउन नगरबासी, प्रदेश, संघ तथा अन्तर्राष्ट्रिय स्तरमा हातेमालो गर्दै, अग्रजको अनुभव, युवाहरुसँग सहकार्य र हातेमालो गर्दै दीर्घकालीन योजना र छनौट गर्न ध्यानाकर्षण पत्रमा अनुरोध गरिएको छ ।

कार्यक्रममा स्थानीय युवा विक्रम केसी, राजनप्रसाद ढकाल, उद्धव बिडारी, अनिल लामा, युगल ढकाल, बद्री ढकाल लगायतका युवाहरुको सहभागिता रहेको थियो ।

ध्यानाकर्षण पत्र र बिकासको साँचो बुझ्दै नगरप्रमुख विष्टले युवाहरुको दिएकोे सकारात्मक सुझावले आफुमा काम गर्न उर्जा मिल्ने बताउँदै, आगामी ५ बर्ष देखिने काम गर्ने बताउँदै बिकासको साँचो र ध्यानाकर्षणले बिकासको ढोका खोल्न युवाहरुको साथ र सहयोग आबश्यकता रहेको बताए ।

विष्टले युवाहरुको मागमा नगरपालिका प्रतिबद्ध रहेको बताउँदै युवाहरुले उठाएका योजनाका बिषय कार्यपालिका बैठकमा समेत छलफल गरिने जानकारी दिए । कार्यक्रममा नगर उपप्रमुख भरत गोपालीको पनि उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*