नवोदयमा निर्वाचित ‘स्कूल क्याप्टेन’ कार्कीले सम्हालिन जिम्मेवारी

बाइलाइन नेपाल
१६ जेष्ठ २०७९, सोमबार १७:१७

हेटौंडा । मकवानपुरका निजी विद्यालयमा फरक शिक्षण विधि तथा अतिरिक्त क्रियाकलापमार्फत् छुट्टै पहिचान बनाउन सफल हेटौंडा उपमहानगरपालिका–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयको नवनिर्वाचित ‘स्कुल क्याप्टेन’सहित अन्य क्लबका अध्यक्ष तथा पदाधिकारीले आज सोमबारबाट जिम्मेवारी सम्हालेका छन् ।

‘स्कूल क्याप्टेन’सहित विभिन्न क्लबमा निर्वाचित भएकाहरुलाई आज विद्यालयले एक कार्यक्रमको आयोजना गर्दै पदभार ग्रहण गराईएको छ । चालु शैक्षिक सत्रका लागि नवोदय विद्यालयको स्कूल क्याप्टेनमा निर्वाचित भएकी प्रितिका कार्कीले पदभार ग्रहण गरेकी हुन् । निर्वाचित कार्कीलाई विद्यालयका निर्देशक दीपेश जोशीले सपथ ग्रहण गरेका थिए ।

शुक्रबार भएको स्कूल क्याप्टेनमा कार्की निर्वाचित भएकी थिइन् । कार्कीले २ सय ८४ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी सन्देश सिंहले १ सय ६१ मत र अङ्किता अग्रवालले १ सय ९५ मत प्राप्त गरेका थिए । कक्षा ४ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थी तथा शिक्षक कर्मचारीको मतदानबाट नेतृत्व चयन गर्ने गरिएको छ ।

 

सपथ ग्रहणपछि विद्यालयमा रहेका सबै विद्यार्थीलाई समान व्यवहार गरी विद्यालयको नीति निर्देशनमा रही आफूले विभिन्न कार्यहरु सञ्चालन गर्ने नवनिर्वाचित स्कूल क्याप्टेन कार्कीले बताइन् ।

अन्नपूर्ण, धौलागिरी, सगरमाथा र कञ्जनजङ्घा सदनको हाउस क्याप्टेन र भाइस क्याप्टेन, स्पोर्टस क्याप्टेनमा चयन भएका विद्यार्थीलाई विद्यालयका शिक्षक÷शिक्षिकाले ब्याज प्रदान गर्नुका साथै नवनिर्वाचित स्कूल क्याप्टेन प्रितिका कार्कीले सपथ खुवाएकी थिइन् ।

यसैगरी नवोदय साहित्यिक बगैँचा बाल क्लबकी अध्यक्ष दर्शना सापकोटा, नेपाली पत्रकारिता क्लवकी अध्यक्ष अनुषा उप्रेती, नवोदय अङ्ग्रेजी क्लबका अध्यक्ष चिराग डङ्गोल, नवोदय बुलेटिनकी अध्यक्ष कृषा श्रेष्ठ, नवोदय सामाजिक क्लवका अध्यक्ष निर्भीक ज्ञवाली, नवोदय विज्ञान क्लवकी अध्यक्ष वृष्टि जैयसवाल, नवोदय गणित क्लवकी अध्यक्ष अल्जिना दङ्गाल, नवोदय सङ्गीत क्लवका अध्यक्ष सुजेन सिंह, नवोदय नृत्य क्लवकी अध्यक्ष अनुष्का बानियाँ, नवोदय नाटक क्लवका अध्यक्ष सुराजमान श्रेष्ठ, नवोदय आर्ट क्लवका अध्यक्ष एलेक्स श्रेष्ठ र नवोदय कम्प्युटर क्लवका अध्यक्ष सौहार्द सुवेदीलाई कार्कीले सपथ खुवाएकी थिइन् ।

अघिल्लो शैक्षिक सत्रमा स्कूल क्याप्टेनमा रहि उत्कृष्ट कार्य गरेकी रेजा विष्टलाई विद्यालयले ‘आउट स्टान्डिङ अफ द इयर’ को रुपमा ट्रफी, फ्रेम र प्रमाणपत्र प्रदान गरेको छ । हाउस क्याप्टेन, भाइस क्याप्टेनलगायतका विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

विद्यालयका निर्देशक दीपेश जोशीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक दुर्गा भट्टराई, शैक्षिक संयोजक अव्यक्त खनाल, नेपाल पत्रकार महासङ्घ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारी, पत्रकार गणेश दर्पण अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।

विद्यालयले विद्यार्थीको नेतृत्व क्षमताको विकास, सामूहिक क्रियाकलापको विकास, व्यक्तित्व विकास, तार्किक क्षमताको विकास, समस्या पहिचान र समाधानको गर्ने उपायको विकास, सिर्जनशीलता तथा कल्पनाशक्तिको विकास हुने भएकाले यसरी नेतृत्व चयनलाई विशेष महत्वका साथ प्रत्येक वर्ष कार्यक्रमको आयोजना गर्ने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*