हेटौंडामा गठबन्धनको जित,मेयरमा लामा र उपमेयरमा बानियाँ

बाइलाइन नेपाल
७ जेष्ठ २०७९, शनिबार ०८:४८

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीकी नेता मीना लामा निर्वाचित भएकी छिन् ।

जितसँगै उनी वाग्मती प्रदेशको एकमात्र उपमहानगर हेटौंडाको पहिलो महिला मेयरसमेत बनिन् । नेकपा एमाले र राप्रपाको चुनौती पन्छाउँदै उनले यो सफलता हात पारेकी हुन् ।

लामाले २३ हजार ७५ मत ल्याएर विजयी भइन् । दोस्रो स्थानमा रहेका नेकपा एमालेका नेता अनन्तप्रसाद पौडेलले २० हजार ९ सय ८ मत ल्याए । त्यस्तै राप्रपाका दीपकबहादुर सिंहले २० हजार ५ सय ३१ मत ल्याए । लामाले पौडेललाई २ हजार १ सय ६७ मतले पराजित गरेकी हुन् ।

त्यस्तै उपमेयरमा कांग्रेसका राजेश बानियाँ निर्वाचित भए । उनले ३२ हजार ५ सय ९३ मत ल्याउँदा नेकपा एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९ सय ९ मत ल्याए । राप्रपाकी इन्दिरा न्यौपानले ५ हजार ४ सय ८३ मत ल्याइन् । हेटौंडा उपमहानगरपालिकामा ७३ हजार ४ सय १४ मत खसेको थियो ।

एमालेबाट संविधानसभा सदस्य अनन्त पौडेल र राप्रपाबाट दीपकबहादुर सिंह उनीसँगै चुनावी मैदानमा थिए । विशेष गरी तामाङ बाहुल्य बसोबास रहेको हेटौंडा–१२ र १३ बाट ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने वातावरण उनले आफ्नै अगुवाइमा तयारी पारिन् । बजार क्षेत्रको मत राप्रपको उम्मेदवारको पक्षमा जाँदा ग्रामीण भेगको मत लामाको पक्षमा आउनु पनि उनले चुनाव जित्ने एउटा आधार हो ।

एमाले बलियो भएको वडामा सत्तारुढ गठबन्धनले एकता गर्दै जनमतलाई आफ्नो पक्षमा तान्दा लामालाई थप सहज भयो । ‘सुन्दर र स्मार्ट’ हेटौंडा बनाउने नारा दिएकी लामालाई महिला मतदाताले बढी रुचाएको देखिन्छ । उपमेयर हुँदा महिलाका क्षेत्रमा उनले गरेको कार्यका कारण पनि अहिलेको अवस्थामा पुग्ने आधार तयार भएको हो ।

२०३३ साल पुस २७ गते हेटौंडा–११ नवलपुरमा जन्मिएकी लामाले २०४६ सालबाट राजनीतिमा प्रवेश गरेकी थिइन् । उनले समाजशास्त्रमा एमए गरेकी छन् । २०७१ सालमा तत्कालीन एमाले मकवानपुरको उपसचिव र विद्यार्थी इञ्चार्ज भई काम गरेकी लामा २०७१ सालमै अखिल नेपाल महिला संघको जिल्ला सचिव भएकी थिइन् । २०७२ सालमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्य भएकी लामासँग आदिवासी जनजाति जिल्ला समन्वय समिति मकवानपुरको उपाध्यक्ष भएर काम गरेको अनुभवसमेत छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*