हेटौंडामा गठबन्धनको जित,मेयरमा लामा र उपमेयरमा बानियाँ

बाइलाइन नेपाल
६ जेष्ठ २०७९, शुक्रबार ०८:०३

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा मत गणना अन्तिम चरणमा पुगेको छ। राप्रपा छाडेका पूर्वअध्यक्ष कमल थापाको गृहनगर हेटौंडामा जारी मतगणनाले सबैको ध्यान तान्यो ।

राप्रपा उम्मेदवार दीपकबहादुर सिंहले अप्रत्यासित रुपमा गठबन्धन र एमाले उम्मेदवारलाई टक्कर दिएपछि हेटौंडाको मतगणनाले पनि अन्य ठूला नगरमा जस्तै सबैको ध्यान तानेको हो।

२०४९ सालदेखि अटुट रुपमा एमालेले विजय हासिल गर्दै आएको हेटौंडा उपमहानगरपालिकाको मत गणनामा कहिले राप्रपाका सिंहले अग्रता हासिल त कहिले गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी मीनाकुमारी लामाले अग्रता लिइन् ।

काउनडाउनमै नभएका सिंहले मतगणानामा गठबन्धन र एमालेलाई पटकपटक पछि पारेपछि तरंगित बन्न पुगेको थियो । भलै अहिले सिंह तेस्रो स्थानमा पुगेका छन् । गठबन्धनकी लामा पहिलो र एमालेका अन्नत पौडेल दोस्रो स्थानमा रहेका छन् ।

उता उपप्रमुखमा यति चर्को प्रतिस्पर्धा छैन। कांग्रेसका राजेश बानियाँ ६ हजार बढी मतले अगाडि छन्। राप्रपाका उम्मेदवारको मत पनि थोरै छ। उपप्रमुखमा कांग्रेसले जित्ने देखिँदा मेयरमा भने कांग्रेसको समेत समर्थन पाएकी लामालाई राप्रपा एक्लैले टक्कर दिइरहेको छ।

यो समाचार तयार पार्दासम्म हेटौंडा उपमहानगरपालिकाको ६३, १२४ मतगणना भएको छ । मतगणनामा १७७२ मतले गठबन्धनका तर्फबाट नेकपा एसका मेयर पदका उम्मेदवार मिनाकुमारी लामा अगाडि छिन् । उनले १९,९६४ मत प्राप्त गरेकी छिन् ।

यसैगरी नेकपा एमालेका मेयरका उम्मेदवार अनन्त पौडेलले १८१९२ र राप्रपाका तर्फबाट मेयर पदका उम्मेदवार दीपक बहादुर सिंहले १७५६० मत प्राप्त गरेका छन् । अहिले ८, ९, १०, ११ र १२ नम्बर वडाको मतगणाना भइरहेको छ ।

२०७४ सालको स्थानीय निर्वाचनमा कमल थापासमेत हुँदा हेटौंडामा राप्रपाका उम्मेदवारले ६ हजार ८५७ मत मात्रै पाएका थिए। त्यतिबेला निर्वाचित एमालेका उम्मेदवार हरिबहादुर महतले २३ हजार १२४ मत ल्याएका थिए। कांग्रेसले २२ हजार ५०९ मत ल्याउँदा राप्रपा प्रतिस्पर्धामै थिएन।

तर, कमल थापासमेत अलग भएका बेला आएको राप्रपाको मतले भने तरंग ल्याएको छ। मत गणना सकिएका ५ वटा वडामा एमाले र ६ वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ। वडाहरुमा राप्रपाका उम्मेदवारले खासै मत पाउन सकेका छैनन्। तर, राप्रपाका सिंहले ल्याएको मत भने अनपेक्षित देखिएको छ।

राप्रपाबाट अलग भएर कमल थापासँगै राप्रपा नेपालमा गएका नेता राजाराम बर्तौला आफ्ना समर्थकको पनि मत सिंहले पाएको बताउँछन्।

‘राप्रपा नेपालले एमालेलाई सहयोग गर्ने भनेको हो। तर, त्यहाँ कुनै लेनादेना भएन। हामी सिंहका लागि भोट माग्दै गएनौं, तर हाम्रो भोट पनि उहाँलाई गएको हो’, बर्तौलाले भने, ‘कांग्रेसले भोट हाल्ने ठाउँ नै पाएन। त्यहाँका असन्तुष्टको भोट पनि सिंहलाई नै गयो।’

टिकट वितरणसँगै जनमत नरहेको एकीकृत समाजवादीलाई प्रमुखमा सहयोग गरेको भन्दै कांग्रेसभित्र असन्तुष्टि देखिएको थियो। ठूला पार्टीका उम्मेदवारभन्दा स्थानीयसँग भिजेका सिंहलाई लिगेसीले पनि साथ दिएको राप्रपाका नेताहरुको बुझाइ छ। सिंह पूर्वजिल्ला विकास समितिका सभापति हुन्। पञ्चायतका बडा हाकिम मोहनबहादुर सिंहको परिवारको पनि त्यहाँ छुट्टै प्रभाव छ।

‘एमालेसँग तालमेल भएन। हाम्रो उम्मेदवार थिएनन्। त्यसो भइसकेपछि हामीसँग २० औं वर्ष सँगै काम गरेको व्यक्ति उठेपछि हाम्रा मान्छेले पनि भोट उहाँलाई नै हाले। यसको मतलब हेटौंडामा राप्रपा नेपालको, कमल थापाको प्रभाव नै नभएको अर्थमा बुझियो भने गलत हुन्छ,’ बर्तौलाले भने।

राप्रपाका नेता नवराज विष्टले हेटौंडामा कमल थापा पक्षको पनि साथ पाएको संकेत गरे। ‘उहाँसँगको कुरा छुट्टै छ। उहाँ हाम्रो आदर्णिय नेता नै हो। उहाँहरुले केगर्नुभो भन्ने विषयमा अहिले नबोलौं’, उनले भने।

त्यसो त यसअघिका निर्वाचनमा पटक पराजित भएका सिंह मतदातामाझ परिचित हुन्। २०५४ सालमा पनि उनी हेटौंडाको मेयरमा चुनाव लडेका थिए। त्यतिबेला पूर्वमुख्यमन्त्री डोरमणि पौडेलसँग उनी पराजित भए।

मेयरमा पराजित भएको २ वर्षपछि संसदमा चुनाव लडे। त्यतिबेला पनि एमालेको गढ भत्काउन राप्रपा असफल भयो। हालका स्वास्थ्यमन्त्री विरोध खतिवडाले सिंहलाई पराजित गरे।

१४ वर्षपछि पनि सिंहले चुनाव लड्दा पुरानै प्रतिस्पर्धी पाए र नतिजा पनि पुरानै निस्कियो। २०७० सालको संविधान सभा निर्वाचनमा विरोध खतिवडाले दोश्रो पटक चुनाव जित्दा सिंह फेरि पराजित भए।

पटक–पटक चुनाव लड्दा हेटौंडाका जनतासँग उनको घुलमिल पनि बढ्दै गएको थियो। तर राप्रपाका नेता बिष्ट पछिल्लो समय राप्रपाको प्रभाव पनि बढ्दै गएको दाबी गर्छन्।

उनी भन्छन्, ‘हाम्रा उम्मेदवारले निर्वाचित भयौं भने भ्रष्टचार गर्दैनौं भनेर मन्दिरमा गएर कसम खाएका छन्। जनता पूरानै अनुहारबाट आजित हुँदै गएपछि पनि हामीलाई मत दिएका हुन्।’-नेपालखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*