कृष्ण आदर्शले अब ७५ जना विद्यार्थीलाई छात्रवृत्ति दिने

बाइलाइन नेपाल
२५ बैशाख २०७९, आईतवार ०७:२६

हेटौंडा– हेटौंडा–९ मा रहेको कृष्ण आदर्श इंग्लिस बोर्डिङ स्कूलले चालू शैक्षिक सत्रमा कक्षा ५ देखि ९ कक्षासम्मका विद्यार्थीका लागि आकर्षक छात्रवृत्तिको योजना ल्याएको छ । करिब ६ सय जना विद्यार्थीलाई अध्यापन गरिरहेको कृष्ण आदर्शले विद्यालयमा अध्ययनरत वा अन्य विद्यालयबाट आउने विद्यार्थीलाई वर्षभर ५ प्रतिशत मात्र शुल्क लिएर छात्रवृत्तिमा अध्ययन गर्ने अवसर प्रदान गर्न लागेको हो ।

छात्रवृत्तिकोलागि आगामी जेठ ७ गते शनिबार प्रवेश परीक्षा लिइनेछ । १०० पूर्णाङ्कको वस्तगत परीक्षामा कम्तिमा ५० प्रतिशत अंक ल्याउने विद्यार्थीले छात्रवृत्ति योजनामा भाग लिन पाउनेछन् । छात्रवृत्ति परीक्षामा ७५ प्रतिशतभन्दा बढी अंक प्राप्त गर्ने विद्यार्थी छात्रवृत्तिका लागि योग्य हुनेछन् । ५ कक्षादेखि ९ कक्षासम्मका १५/१५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । एउटै कक्षामा ७५ प्रतिशत बढी अंक ल्याउने विद्यार्थी संख्या १५ जनाभन्दा बढी भएमा मेरिटको आधारमा छनौट गरिन्छ ।

छात्रवृत्तिको योजनासहित शनिबारबाट विद्यालयले भर्ना कार्यक्रम सुरु गरेको छ । शनिबार गत वर्षको नतिजा प्रकाशन, पुरस्कार वितरण कार्यक्रमका साथ भर्ना अभियानसमेत सुरु गरिएको विद्यालयका प्रिन्सिपल नवीन केसीले जानकारी दिए । नतिजा प्रकाशनका साथ विद्यार्थी तथा अभिभावकको स्वास्थ्यलाई समेत मध्येनजर सुगर, प्रेसरको परीक्षणसहित फिजियोथेरापी शिविरसमेत सञ्चालन गरिएको थियो । शिविरमा विद्यार्थी अभिभावकसहित स्थानीयलेसमेत गरी २५० जनाले सेवा लिएको प्रिन्सिपल केसीले बताए । अब हरेक महिना फरक फरक स्वास्थ्य समस्याको पहिचान साथै उपचार गर्न स्वास्थ्य शिविर सञ्चालन गरिनेसमेत उनले बताए ।

नतिजा सार्वजनिकसँगै विद्यालयले कक्षागत उत्कृष्ट ५ जना र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने कक्षाका १० जनाका दरले विद्यार्थीलाई मेडलसमेत प्रदान गरेको छ । नतिजा प्रकाशन तथा भर्ना अभियान सुरुवातका दिन शनिबार विद्यार्थीका लागि किताब प्रदर्शनी, आइस्क्रिम स्टललगायत अभिप्रेरणात्मक कार्यक्रम राखिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*