हेटौंडाको मेयरमा श्रीधर पोखरेल, उपमेयरमा राजेश बानियाँ ?

बाइलाइन नेपाल
८ बैशाख २०७९, बिहीबार ०७:२९

हेटौंडा । सत्ता गठवन्धनले महानगरपालिका र उपमहानगरपालिकामा भागवण्डा टुंगो लगाएपछि मेयर र उपमेयर उम्मेदवारको चर्चा सुरु हुन थालेको छ । वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ता भएका कारण पनि आफ्ना उम्मेदवार चयनको अन्तिम अवस्थामा दलहरुको दौडधूप छ ।

सत्ता गठवन्धनको भागवण्डामा हेटौंडा उपमहानगरपालिका एकीकृत समाजवादीको भागमा परेको छ । लामोरस्साकसी र नेपाली काँग्रेसको जिल्ला र नगर कमिटीको असहमतिका बीच पार्टी केन्द्रले हेटौंडा उपमहानगरपालिका एकीकृत समाजवादीलाई दिन सहमत भएको छ । एकीकृत समाजवादीले हेटौंडा उपमहनगरपालिका पाएसँगै कसलाई उम्मेदवार बनाउने भनेर जिल्लादेखि केन्द्रसम्म उपयुक्त पात्रको चयनमा दौडधूप चल्न थालेको छ ।

हेटौंडाको मेयरका लागि एकीकृत समाजवादीले श्रीधर पोखरेल र मिना लामालाई अघि सारेको छ । पोखरेल पार्टीका अध्यक्ष हुन भने लामा हाल हेटौंडाको उपमेयर हुन् । उनिहरु दुई मध्येबाट एकजनालाई उम्मेदवार बनाउने पक्का छ ।

नेकपा एमालले अघिल्लो निर्वाचनमा काँग्रेस र माओवादी केन्द्रको गठवन्धनलाई पाखा लगाउँदै जित निकालेको हेटौंडा उपमहानगरपालिकामा अहिलेको निर्वाचन पनि गठवन्धनलाई चुनौतीपूर्ण देखिन्छ । स्रोतका अनुसार एमालेको धेरैभन्दा धेरै मत काट्नका लागि एकीकृत समाजवादीले श्रीधर पोखरेललाई हेटौंडाको मेयरमा अघि सार्न खोजेको छ । अहिलेको परिस्थितिमा लामा भन्दा पोखरेल उपयुक्त पात्र भएको निचोड एकीकृत समाजवादीले निकालेको एक नेताले जानकारी दिए ।

एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीबाट पोखरेल उम्मेदवार बन्दा जितका लागि सहज हुने जनाइएको छ । तर अनुभव र पाँच वर्ष नगरवासी माझ पुगेर पहिचान बनाएको र काम गरेको हिसाबले लामाको पनि उत्तिकै सम्भावना रहेको छ ।

हेटौंडाको उपमेयरको भाग काँग्रेसलाइ परेको छ । मेयर पाउने पर्ने माग गर्दै काँग्रेस मकवानपुरमा अहिले पनि चर्को दबाब र भागवण्डाको विरोध भइरहेको छ । कांग्रेसले उपमेयरमा राजेश बानियाँलाई उठाउने तयारी गरेको छ । काँग्रेस बागमती प्रदेशका सभापति ईन्द्र बानियाँका आफन्त रहेका राजेशलाई नै उपमेयरमा उम्मेदवार बनाउने निश्चित भएको छ ।

राजेश मकवानपुर–१ (ख) को कांग्रेस सभापति र हाल हेटौंडा ५ का वडाध्यक्ष समेत हुन् । उपमेयरमा अहिलेसम्म अरुको नाम चर्चामा आएको छैन् । काँग्रेसमा अनन्नदराम पराजुली र जयराम लामिछाने गुटको तर्फबाट उपमेयरमा दाबी रह्यो भने राजेश उम्मेदवार नहुन पनि सक्ने स्रोतले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*