सशक्त पत्रकारिता नै परिवर्तनको सम्वाहकः प्रदेश प्रमुख शर्मा

बाइलाइन नेपाल
१९ चैत्र २०७८, शनिबार १४:३५

हेटौंडा । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सञ्चार माध्ययमहरुले नागरिकहरुको सुसूचित हुने अधिकारको प्रर्वद्धन गरिरहेको बताउँदै आगामी दिनमा थप सशक्त र जनताप्रति जवाफदेहीपूर्ण ढंगबाट सञ्चार क्षेत्र अघि बढ्नुपर्ने सुझाव दिएका छन् ।

स्टेट भिजन प्रा.लि.द्वारा सञ्चालित तु खबर डटकमको पाँचौँ वार्षिक उत्सव तथा पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले जिम्मेवार तथा सशक्त पत्रकारिता नै समाज परिवर्तनको सम्वाहक भएको उल्लेख गरे ।

उनले सत्यको सम्प्रेषण गर्न सकेको अवस्थामामात्रै पत्रकारिता क्षेत्रले सफलता प्राप्त गरेको मानिने बताए । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको अतिरिक्त देश र जनतालाई अदम्य शाहस भएको स्वाभिमानयुक्त पत्रकारिता आवश्यक भएको बताए । विभिन्न कालखण्डमा शासकहरुबाट पत्रकारिता क्षेत्रलाई दबाउन भएका प्रयासहरु बिफल पार्दै निडरतापूर्वक अघि बढेको पत्रकारिता क्षेत्रकै बलमा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको बताउँदै यसको रक्षाका निम्ति पनि पत्रकारहरु उत्तीकै जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका सम्पादक अखण्ड भण्डारी, राजधानी डेल्ली डटकमका सम्पादक ध्रुव लम्साल, नेपाल समाचारपत्रका मकवानपुर संवाददाता रोशन पराजुली, रेडियो मकवानपुरका समाचार प्रमुख राजन दाहाल (खुसराज), धादिङ्पोष्ट डटकमका सम्पादक नारायण शिलवाल र विभिन्न छापाखानामा पत्रपत्रिका छपाईको काम गर्दै आएका सोमबहादुर विष्टलाई नगदसहित पुरस्कृत गरिएको हो ।  कार्यक्रममा तु खबरले वार्षिक उत्सवको अवसरमा प्रकाशन गरेको तु खबर स्मारिकाको पाँचौँ संस्करण विमोचन गरिएको थियो ।

तु खबरका सम्पादक गिरिजा अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्त प्रजा, बागमती प्रदेशसभा सदस्य मुनु सिग्देल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, मकवानपुर जागरण अभियानका अध्यक्ष कृष्णराज कोइराला, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, नेपाल पत्रकार मञ्चका महासचिव विमल थापा, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, नेकपा एमालेका अध्यक्ष एकलाल श्रेष्ठ, नेकपा माओवादी केन्द्र मकवानपुरका सचिव भीम पाख्रिन, पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष रुपेश दुलाल, मकवानपुर अध्यक्ष मणिराज गौतम, पूर्व अध्यक्षहरु, मकवानपुर जागरण अभियानका अध्यक्ष कृष्णराज कोइरालालगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*