मकवानपुरगढीलाई आज बालमैत्री गाउँपालिका घोषणा गरिँदै

बाइलाइन नेपाल
१२ चैत्र २०७८, शनिबार ०७:५९

हेटौंडा । मकवानपुरगढीलाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिकाको रुपमा आज घोषणा गरिँदै छ । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा घोषणा गर्ने जनाइएको छ ।

पालिकाको ५ नम्बर वडाको धादिङस्थित खेलकुद मैदानमा गाउँपालिकालाई भव्य कार्यक्रमसहित बालमैत्री घोषणा गरिदै छ । मकवानपुर गढी नेपालको गाउँपालिकाअन्तर्गत् चौथो, बागमती प्रदेश र मकवानपुर जिल्लामा तेस्रो हुनेछ ।

बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ अनुसार भने मकवानपुरगढी बालमैत्री घोषणा हुने नेपालकै दोस्रो गाउँपालिकाको रुपमा रहने छ । पहिलो गाउँपालिका भने पाल्पाको रम्भा गाउँपालिका हो ।

गाउँपालिकालाई बालमैत्री घोषणाका लागि ५१ सदस्यीय आयोजक मुल समारोह समिति गठन गरीएको छ । सरोकारवालाहरुको बैठकले गाउँपालिका अध्यक्ष बिदुर हुमागाईंको अध्यक्षतामा ५१ सदस्यीय आयोजक मुल समारोह समिति गठन गरिएको हो ।

बालमैत्री घोषणा कार्यक्रममा राष्ट्रिय कलाकारको प्रस्तुति पनि रहने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले गत वर्षदेखि नै बालमैत्री अभियान सञ्चालन गरेर प्रत्येक वडामा बालमैत्री सहजकर्ता राखी कामलाई तीव्रता दिएको थियो ।

२०७८ मंसिरमा र पछि माघमा घोषणा गर्न तयारी हुँदापनि कोरोना कहरका कारण सम्भव भएको थिएन् । गाउँपालिकाले बालमैत्री स्थानीय शासन घोषणा निर्देशिका २०७८ मा रहि ५१ वटा सुचकमा रहेर काम गरेको थियो ।

५१ वटा सुचकहरुमा बाँच्न पाउने अधिकारमा १४ वटा, संरक्षणको अधिकारमा १० वटा, विकासको अधिकारमा ६ वटा, सहभागिताको अधिकारमा ६ वटा र संस्थागत सुचकमा १५ वटा रहेका छन् ।

कार्यान्वयन निर्देशिका २०७८ मा ५१ वटा सुचक छन् भने कार्यान्वयन निर्देशिका २०६८ मा ३९ वटा सुचकमा रहेर काम गरिएको थियो । घोषणा भएका वडामा सुचक मापनसहितको अनुगमन जिल्ला समन्वय समिति र बागमती प्रदेश सरकारले गर्नेछ ।

अनुगमन पश्चात गाउँपालिकालाई बालमैत्री घोषणाका लागि प्रदेश सरकारबाट स्वीकृती पाइसकेको गाउँपालिका अध्यक्ष बिदुर हुमागाईंजानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*