मकवानपुरगढीलाई १२ चैतमा बालमैत्री गाउँपालिका घोषणा गरिँदै

बाइलाइन नेपाल
११ चैत्र २०७८, शुक्रबार १४:३९

मकवानपुरगढीलाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिकाको रुपमा घोषणा गरिँदै छ । यसअघि २७ फागुनमा पालिकाको ८ वटै वडालाई बालमैत्री घोषणा गरिएको थियो ।

वडा घोषणापछि १२ चैत शनिवार ५ नम्बर वडाको धादिङस्थित खेलकुद मैदानमा गाउँपालिकालाई भव्य कार्यक्रमसहित बालमैत्री घोषणा गर्ने तयारी अघि बढाइएको छ । निर्धारित मितिमा बालमैत्री घोषणा गरिए मकवानपुरगढी नेपालको गाउँपालिकाअन्तर्गत् चौथो, बागमती प्रदेश र मकवानपुर जिल्लामा तेस्रो हुनेछ ।

बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ अनुसार भने मकवानपुरगढी बालमैत्री घोषणा हुने नेपालकै दोस्रो गाउँपालिकाको रुपमा रहने छ । पहिलो गाउँपालिका भने पाल्पाको रम्भा गाउँपालिका हो ।

गाउँपालिकालाई बालमैत्री घोषणाका लागि ५१ सदस्यीय आयोजक मुल समारोह समिति गठन गरीएको छ । सरोकारवालाहरुको बैठकले गाउँपालिका अध्यक्ष बिदुर हुमागाईंको अध्यक्षतामा ५१ सदस्यीय आयोजक मुल समारोह समिति गठन गरिएको हो ।

बैठकले ७ वटा उपसमिति पनि गठन गर्ने निर्णय गरेको छ । उपसमितिहरुमा सूचना तथा जनपरिचालन उपसमिति, खानेपानी, सरसफाई तथा चियापान उपसमिति, मञ्च, स्वागत गेट निर्माण उपसमिति, स्वागत सम्मान व्यवस्थापन उपसमिति, प्रचारप्रसार, छपाई व्यवस्थापन उपसमिति, आर्थिक परिचालन उपसमिति निर्माण गरिएको छ ।

बालमैत्री घोषणा कार्यक्रममा राष्ट्रिय कलाकारको प्रस्तुति पनि रहने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले गत वर्षदेखि नै बालमैत्री अभियान सञ्चालन गरेर प्रत्येक वडामा बालमैत्री सहजकर्ता राखी कामलाई तीव्रता दिएको थियो ।

२०७८ मंसिरमा र पछि माघमा घोषणा गर्न तयारी हुँदापनि कोरोना कहरका कारण सम्भव भएको थिएन् । गाउँपालिकाले बालमैत्री स्थानीय शासन घोषणा निर्देशिका २०७८ मा रहि ५१ वटा सुचकमा रहेर काम गरेको थियो ।

५१ वटा सुचकहरुमा बाँच्न पाउने अधिकारमा १४ वटा, संरक्षणको अधिकारमा १० वटा, विकासको अधिकारमा ६ वटा, सहभागिताको अधिकारमा ६ वटा र संस्थागत सुचकमा १५ वटा रहेका छन् ।

कार्यान्वयन निर्देशिका २०७८ मा ५१ वटा सुचक छन् भने कार्यान्वयन निर्देशिका २०६८ मा ३९ वटा सुचकमा रहेर काम गरिएको थियो । घोषणा भएका वडामा सुचक मापनसहितको अनुगमन जिल्ला समन्वय समिति र बागमती प्रदेश सरकारले गर्नेछ ।

अनुगमन पश्चात गाउँपालिकालाई बालमैत्री घोषणाका लागि प्रदेश सरकारबाट स्वीकृती मिल्ने छ । गाउँपालिका अध्यक्ष बिदुर हुमागाईंले प्रदेश सरकारलाई बालमैत्री घोषणा स्वीकृतीका लागि जिल्ला समन्वय समितिमार्फत सिफारिस गरिसकेका छन् ।

अध्यक्ष हुमागाईंले बालमैत्री गाउँपालिका घोषणाका लागि पुग्नुपर्ने सुचकहरु सतप्रतिशत पुगिसकेकाले स्वीकृती प्रदान गर्न माग गरिएको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*