बागमती प्रदेशसभाको बैठक स्थगित

बाइलाइन नेपाल
८ चैत्र २०७८, मंगलवार १५:५६
फाइल फोटो

वाग्मती प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ । मंगलबार सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभामा पेस भएको विधेयकहरु दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएर अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक ४० मिनेट ढिलो गरी सुरु भएको थियो । सदनमा सांसदको गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भएको हो ।

सदनमा सांसदको न्यून उपस्थिति रहेको थियो । बैठकले सदनमा पेस भएका ३ वटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । प्रदेश ऐन, प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश अनुसन्धान ब्युरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमाथि छलफल गरी त्यसको दफावार छलफलका लागि समितिमा पठाउन स्वीकृती प्रदान गरेको हो ।

तीनवटै विधेयक सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले बैठकमा स्वीकृतका लागि पेस गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*