मकवानपुरमा समाजवादीले बनायो निर्वाचन परिचालन कमिटी

बाइलाइन नेपाल
६ चैत्र २०७८, आईतवार ०७:३४

हेटौँडा । नेकपा (एकीकृत समाजवादी) मकवानपुरले स्थानीय तह निर्वाचन तयारीका लागि १ हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

पार्टीको शनिबार हेटौँडामा बसेको सचिवालय बैठकले नेकपा (एकीकृत समाजवादी) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको संयोजकत्वमा कमिटी गठन गरेको हो । कमिटीमा पार्टीका जिल्ला कमिटी, १० स्थानीय तह कमिटी, जनसंगठनहरुका कार्यसमितिसहित १ हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको हो ।

सचिवालय बैठकले मकवानपुरका १० स्थानीय तहमा पार्टी अभियान सञ्चालनका लागि सहजकर्ताहरु पनि तोकेको छ । हेटौँडा उपमहानगरपालिकामा पार्टी अध्यक्ष श्रीधर पोखरेल, थाहा नगरपालिकामा पोलिटब्युरो सदस्य ललित बस्नेत, मनहरी गाउँपालिकामा केन्द्रीय सदस्य राजाराम स्याङ्तान र प्रदेश कमिटी सदस्य गोविन्दराम चेपाङ, भीमफेदी गाउँपालिकामा केन्द्रीय सदस्यद्वय मुनु सिग्देल र सूर्यचन्द्र न्यौपाने, राक्सिराङ गाउँपालिकामा कल्याण विक्रम घलान, बागमती गाउँपालिकामा प्रदेश कमिटी सदस्य यादव गजुरेल, बकैया गाउँपालिकामा पार्टी सचिव विष्णु दाहाल, इन्द्रसरोवर गाउँपालिकामा केन्द्रीय सदस्य सूर्यचन्द्र न्यौपाने र निर्वाचन आयोग सदस्य रामचन्द्र बल, कैलाश गाउँपालिकामा प्रदेश कमिटी सदस्य गोविन्दराम चेपाङलाई सहजकर्ता चयनसँगै सबै पालिकामा चैत १५ भित्र बैठक बसेर अभियानलाई सक्रिय बनाइने निर्णय भएको नेकपा (एकीकृत समाजवादी) मकवानपुरका प्रचार विभाग प्रमुख रामकुमार एलनले बताए ।

बैठकलाई सम्बोधन गर्दै पार्टी उपाध्यक्ष एवम् बागमती प्रदेश इञ्चार्ज केदार न्यौपानेले संघीय निर्वाचनको परिणामसम्म गठबन्धन कायम रहने बताउनु भयो । स्थानीय तह निर्वाचनमा कयौँ स्थानमा हामीले चाहँदाचाहँदै पनि गठबन्धनलाई छाड्नु पर्ने अवस्था पनि आउन सक्ने बताउँदै न्यौपानेले संघीय निर्वाचनसम्म गठबन्धनको चक्र नरोकिने बताए ।

पार्टी पोलिटब्युरो सदस्य एवम् मकवानपुर इञ्चार्ज ललित बस्नेत, केन्द्रीय सदस्यहरु मुनु सिग्देल, राजाराम स्याङ्तानलगायतका नेताहरु बैठकमा उपस्थिति थियो । अध्यक्ष श्रीधर पोखरेलले एक्लै स्थानीय तहमा होमिन परे पनि तयार रहन सचिवालय सदस्यहरु आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*