गणितलाई सजिलोसँग बुझाउन नवोदयमा ‘म्याथ क्याम्पफायर’

बाइलाइन नेपाल
३० फाल्गुन २०७८, सोमबार १७:४०

हेटौंडा । हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले गणित विषयलाई सजिलोसँग बुझाउन ‘म्याथ क्याम्प फायर’ को आयोजना गरेको छ । गाह्रो विषयको रुपमा लिइने गणितलाई सरलिकृत गर्न विद्यालयले प्रत्येक वर्ष म्याथ क्याम्प फायरको आयोजना गर्ने गरेको छ ।

अन्तर्राष्ट्रिय पाइ डेको अवसरमा म्याथ क्लबले आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरुले गणितमा आधारित रहेर निर्माण गरेका विभिन्न सामाग्रीको प्रर्दशनी गरिएको थियो । प्रर्दशनीमा राखिएका सामाग्रीले कसरी गणित विषयलाई समेट्छन् भनेर विद्यार्थीहरुले परिभाषित गरेका थिए ।

विद्यालयमा निर्माणको स्टलमा विद्यार्थीहरुले परम्परागत सामानदेखि आफैले निर्माण गरेका सामाग्रीसमेत राखेका थिए । ति सामाग्री कसरी गणितसँग सरोकार राख्छन् भन्ने कुरा विद्यार्थीहरुले सरल रुपमा व्याख्या समेत गरेका थिए । यसले हामीले दैनिक प्रयोग गर्ने सामाग्रीहरु पनि गणितसँग जोडिएका हुन्छन् भन्ने विधार्थीले प्रष्टाएका थिए ।

विद्यार्थीहरुले टुकी बत्ती, टपरी, रङ्गोली, पानीघट्ट, राष्ट्रिय झण्डा, नाङ्लो, मुडा, मानापाथी, मादल, कोदालो, खुकुरी, हवनकुण्ड, घर, करुवा, गुन्द्री, ग्रामोफोन निर्माण गरेर यसमा गणित विषयको प्रयोगको बारेमा अवलोकनकर्तालाई सहजीकरण गरेका थिए ।

क्याम्पफायरले दैनिक जीवनसँग जोडिएका कुराहरु कसरी गणित विषयसँग मिल्छ भन्ने हेर्न र सिकाउन सहयोग गर्ने विद्यार्थीहरुले बताए । कार्यक्रमबाट पढाइमा सहयोग मिल्नुको साथै अनुसन्धान गरि वस्तुको अवस्थाको बारेमा जानकारी हासिल हुनेजनाइएको छ ।

गणित विषयलाई बुझाउन मौलिक एवम् परम्परागत सामाग्रीको प्रयोग गरिएको नवोदय माविको म्याथ क्लबकी संयोजक एवम् गणित शिक्षक अनु श्रेष्ठले जानकारी दिइन् । गणितमा विद्यार्थीको रुची जगाउन पनि क्याम्पफायर कार्यक्रमले सहयोग पुग्ने उनले बताईन् । गणितलाई अफठ्यारो विषयमा लिइने हुँदा यसबारे बुझाउन र सहज बनाउन विद्यालयले कार्यक्रमको आयोजना गरेको उनले बताईन् ।

क्याम्पफायर कार्यक्रमको उद्घाटन म्याथ काउन्सिल मकवानपुरका सचिव र्इन्द्रबहादुर कार्कीले गरेका थिए । उनले गणित विषय घर, समाज र विद्यालयमा बढी उपयोग हुने भएकाले अरु विषयको तुलनामा महत्वपूर्ण रहेको बताए ।

नवोदय विद्यालयका विद्यालय निर्देशक दीपेश जोशीले म्याथ क्याम्पफायर कार्यक्रमले गणित विषय पढ्नमा सहयोग मिलेको बताए । उनले नवोदय म्याथ क्याम्पफायर कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिने प्रतिबद्दता व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*