काँग्रेस सभापतिका उम्मेदवार लामिछानेद्वारा प्राज्ञिक वर्गसँग छलफल

बाइलाइन नेपाल
११ फाल्गुन २०७८, बुधबार २१:३०

हेटौंडा । नेपाली काँग्रेस मकवानपुर यहीको फागुन १५ गते हुने जिल्ला अधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा गरेका जयराम लामिछानेले विचारसँगै जिल्लाको समग्र विकासको नेतृत्व गर्ने बताएका छन् ।

पार्टीलाई वैचारिक र सांगठनिक रुपमा चलायमान बनाउने बताउँदै उनले आफू सभापतिमा निर्वाचित भएपछि जिल्लाको विकासको समेत काँग्रेसले नेतृत्व गर्ने उल्लेख गरे ।

पार्टी संगठन विस्तार, वैचारिक रुपमा सशक्त पार्टी निर्माण र जिल्लाको विकास आगामी योजनाहरुको बारेमा हेटौँडामा बुधबार लोकतान्त्रिक विचार निकट प्राध्यापक, कानुन व्यवसायीलगायत प्राज्ञिक समुदायसँग छलफल गर्दै उनले प्राज्ञिक समुदायसँगको छलफल र अन्तरक्रियालाई आगामी दिनमा समेत निरन्तरता दिने बताए ।

उनले आफू नेतृत्वमा आएपछि प्रशिक्षण अभियान सञ्चालन गर्ने र विचारको राजनीति गर्ने बताउँदै समृद्ध काँग्रेस, सुखी नेपाली कसरी बनाउन सकिन्छ भनेर अन्तरक्रिया सुरु गरेको सुनाए ।

कार्यक्रममा नेपाली लेखक संघका केन्द्रीय सदस्य ह्याग्रीव आचार्यले अहिलेका काँग्रेसहरुले वीपीको नाम सुनेको तर उनको विचार र सिद्धान्तहरु अनुसरण नगरेको बताए । आचार्यले काँग्रेस मकवानपुरले आगामी दिनहरुमा हरेक काँग्रेसीले वीपीको विचार अध्ययन गर्ने र वीपी विचारबाट प्रशिक्षित गर्ने गरी कार्यक्रमहरु तय गर्न सुझाव दिए ।

डेमोक्रेटिक लयर्स एसोसिएसन मकवानपुरका अध्यक्ष कृष्णप्रसाद न्यौपानेले मकवानपुरमा काँग्रेसको आकार बढेको तर विचारको आकार नबढेकोले प्राज्ञिक समुदायसँग छलफल गरी काँग्रेस वैचारिक र विकासमा नेतृत्व गर्ने काँग्रेस निर्माण आवश्यक भएको बताउनुभयो ।

त्यस्तै वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्लेले पार्टीमा योगदान गरेकाहरुको सम्मान गर्ने परिपाटी आवश्यक भएको भन्दै पार्टीमा सबै विचारको सम्मान हुनुपर्नेमा जोड दिए ।

अधिवक्ता कृष्णप्रसाद छत्कुलीले चुवान अघि हामीलाई भेट्न आउने, चुनावपछि हामीलाई भेट्न नचाहने काँग्रेसको नेताहरुमा रहेको प्रवृत्तिलाई लामिछाने नेतृत्वको काँग्रेसले सुधार गर्ने अपेक्षा लिएको बताए।

नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष रामकुमार अधिकारीले जिल्ला अधिवेशन अघि पेशागत संगठनसँग नागरिकका अपेक्षा, आगामी योजना र रणनीतिका बारेमा छलफल गर्ने असल अभ्यासको थाली भएको बताए ।

कार्यक्रममा प्राध्यापक कृष्णप्रसाद दाहाल, केशव आचार्य, विजय ठाकुर, उमेश अर्याल, कानुन व्यवसायीहरु कृष्णप्रसाद अर्याल, आरके मैनाली, मोहन ढकाल, रमा चौलागाई, शिक्षक संघका दीपकलाल खतिवडाले काँग्रेसले जनताका आवाजलाई मुखरित गर्नुपर्ने भन्दै वैचारिक रुपमा सशक्त काँग्रेस आवश्यक भएकोमा जोड दिएका थिए ।

कार्यक्रममा काँग्रेस मकवानपुरका पूर्व सभापति रामचन्द्र अर्याल ’माइकल’, काँग्रेस नेतृहरु उमा दाहाल, रिता खनाल, तारा कार्की राई, काँग्रेस थाहानगर सभापति प्रमोदकृष्ण जोशीलगायत कांग्रेस मकवानपुरका शुभेच्छुक संघसंस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका लामिछानेको समुहबाट उपसभापतिद्वयमा आनन्द कठायत र धर्म लामिछाने, सचिवद्वयमा भीमसेन महत र इश्वर पाठक तथा सहसचिवमा इन्दिरा न्यौपानेले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*