कमल थापाले माफी माग्दै गरे नयाँ पार्टी घोषणा

बाइलाइन नेपाल
७ फाल्गुन २०७८, शनिबार १४:५५

कमल थापाले शनिबार औपचारिक रुपमा राप्रपा नेपाल पार्टीको घोषणा गरेका छन् । प्रजातन्त्र दिवसको दिन पारेर शनिबार उनले आफ्नै अध्यक्षतामा राप्रपा नेपालको घोषणा गरेका हुन् ।

राजधानीमा आयोजित पार्टी घोषणसभालाई सम्बोधन गर्दै उनले आफूलाई विधान र कानुनअनुसार राप्रपा फुटाउने सुझाव आएपनि त्यसो नगरेको बताए । आफूले गीतामा हात राखेर राप्रपा नफुटाउने कसम खाएका कारण सो पार्टीलाई नफुटाएको दाबी समेत गरे ।

थापाले आफूले विगतमा गल्ती गरेको भन्दै माफी मागेका छन् । शनिबार राप्रपा नेपालको घोषणा गर्दै उनले पाँच वर्षयता आफूहरुले बाटो विराएको र धेरै गल्ती गरेको बताए । पार्टी ठूलो बनाउने नाममा असहज र अस्वाभाविक सम्झौताहरु गर्नु र पटक पटक सरकारमा जानु गल्ती भएको उनको भनाइ छ ।

पाँच वर्षको अलमलमा हामीले राप्रपा नेपालको नाम गुमायौं, लोकप्रिय चुनाव चिह्न गाई गुमायौं’ उनले भने ‘आज राप्रपा नेपालको अभियान प्रारम्भ गर्दा म माफी माग्न चाहन्छु, विगतमा गरेको गलत सम्झौताको परिणाम भोगिसक्यौं ।’

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूले ठीक ढंगले पार्टी चलाउन नसक्दा राष्ट्रिय राजनीतिमा भूमिकाविहीन हुन पुगेको बताए ।

‘पार्टीको नेतृत्वको नाताले मैले ठीक ढंगले अघि बढ्न नसक्दाखेरि, गलत प्रवृत्तिसँग सम्झौता गर्दा राष्ट्रिय राजनीतिमा भूमिकाविहीन हुन पुग्यौं । यो सम्पूर्ण जिम्मेवारी मेरो हो’ उनले भने ।गत पुसमा भएको राप्रपाको महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएको दुई महिना नबित्दै थापाले पार्टी छाडेर फेरि अर्को पार्टी गठन गरेका हुन् ।

पार्टी घोषणसभामा सो पार्टीका नेता कार्यकर्ता बाजागाजासहित कार्यक्रमस्थलमा पुगेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*