मकवानपुरको दामन–सिमभञ्ज्याङमा हिमपात, राजमार्ग अवरुद्ध

बाइलाइन नेपाल
२१ माघ २०७८, शुक्रबार १०:५८
फाइल तस्वीर

हेटौंडा । मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको दामन–सिमभञ्ज्याङ क्षेत्रमा शुक्रबार रातिदेखि हिमपात भएको छ । जसका कारण त्रिभुवन राजपथमा सवारी आवागमन अवरुद्ध भएको छ । यसवर्ष त्यस क्षेत्रमा तेस्रो पटक हिमपात भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हाल हेटौंडाबाट जाने सवारीलाई गोलमोडमा र पालुङतर्फबाट आउने सवारीलाई दामानमा रोकिएको छ । मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार हिउँको कारण सवारी सञ्चालन हुन सकेको छैन । थाहा नगरपालिकासँग समन्वय गरेर सडक सञ्चालनमा ल्याउने उनले जानकारी दिए ।

हिउँ परेसँगै त्यसक्षेत्रको जनजीवन भने कष्टकर बनेको छ । पटकपटक हिउँ परेपछि त्यसक्षेत्रका होटल व्यवसायी भने उत्साहित भएका छन् । हिउँ परेसँगै मकवानपुरका विभिन्न स्थान र अन्य जिल्लाबाट पनि हिउँ खेल्न जाने गर्दछन् ।

बागमती प्रदेशको राजधानी हेटौंडाबाट ७० किलोमिटर उत्तर र संघीय राजधानी काठमाडौँबाट ८० किलोमिटर दक्षिणमा अवस्थित दामन-सिम्भञ्ज्याङ क्षेत्रमा करिव एक फुट सम्म हिउँ जमेको स्थानीयहरु बताउँछन् । दुई हजार ४ सय ८८ मिटर उँचाइ रहेको सिम्भञ्ज्याङ मकवानपुरकै सबैभन्दा अग्लो क्षेत्र हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*