तेस्रोलिङ्गी हत्या घटनाः मुख्य अभियुक्त तीन जनालाई आजीवन कैद

बाइलाइन नेपाल
२१ माघ २०७८, शुक्रबार १०:२५
फाइल तस्वीरः घटनापछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले सम्लग्नलाई सार्वजनिक गर्दाको तस्वीर

दुई वर्षअघि तेस्रोलिङ्गी युवतीलाई जबरजस्ती करणी गरेर हत्या गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले मुख्य अभियुक्त तीन जनालाई आजीवन कैदको फैसला सुनाएको छ । त्यस्तै सोही घटनामा संलग्न रहेका अन्य तीन जनालाई अदालतले एक वर्षदेखि २४ वर्षसम्म कैद गर्ने फैसला गरेको छ ।

जिल्ला न्यायाधीश दिल्ली रत्न श्रेष्ठको बिहीबार बसेको इजलासले हेटौंडा उपमहानगरपालिका-११ घर भई हेटौंडा-१० मा बस्दै आएकी २९ वर्षीया तेस्रोलिङ्गी युवतीलाई जबरजस्ती करणी गरी हत्या गरेको ठहर गर्दै हेटौंडा उपमहानगरपालिका ४ का २५ वर्षीय सुशील थापा मगर, २४ वर्षीय आशिष वल र २१ वर्षीय बुद्ध लामालाई आजीवन कैद गर्ने फैसला गरेको हो ।

अदालतले पीडित परिवारलाई ६ महिनाभित्र तीन जनाबाट जनही ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउनसमेत आदेश दिएको छ ।

उक्त घटनामा संलग्न हेटौंडा उपमहानगरपालिका ९ का सिमोन परियारलाई हत्या र डकैतीमा गरी १३ वर्ष कैद गर्ने फैसला गर्नुका साथै ९० हजार रुपैयाँ जरिवाना गर्ने आदेश गरेको छ । मृतकको शव लुकाउने काममा सहयोग गर्नुका साथै मोबाइल र सुनको सिक्री लुट्ने कार्यमा परियार संलग्न रहेको पुष्टि भएको थियो ।

हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङमा भएको जबरजस्ती करणी, हत्या र डकैतीको घटनामा १६ वर्षीय नाबालक पनि संलग्न थिए । उनको हकमा अदालतले जबरजस्ती करणी र हत्या गरेको ठहर गर्दै १६ वर्ष ८ महिना कैद गर्ने फैसला गरेको छ भने डकैतीतर्फ ६ वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ । अदालतले पीडित परिवारलाई २ लाख रुपैयाँ भराउनसमेत आदेश भएको छ । त्यस्तै नाबालक भएकाले त्यसमध्ये एक लाख रुपैयाँ पीडित राहत कोषबाट भराउने आदेश गरेको छ । उक्त आदेशमा जरिवानालाई स्थगन गर्ने उल्लेख गरिएको छ । उक्त घटना हुँदा उनी १६ वर्षका थिए ।

अदालतले घटनामा संलग्न रहेकी डोलमाया तामाङलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना गर्ने ठहर गरेको छ । तामाङले हत्या गरेर डकैत गरेको मोबाइल चलाएकी थिइन् । उक्त फैसलामा पीडित राहत कोषबाट मृतक परिवारलाई तत्कालै ५ लाख रुपैयाँ भराउने आदेश भएको छ ।

२०७६ माघ ४ गते हेटौंडा उपमहानगरपालिका-५ क्याम्पाडाँडास्थित सडक छेउमा अर्धनग्न अवस्थामा तेस्रोलिङ्गी युवतीको शव भेटिएको थियो । लैंगिक अल्पसंख्यकको अधिकारका लागि समेत काम गर्दै आएकी उनले करिब एक वर्षअघिमात्र जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट आफ्नो पहिचानसहितको नागरिकता लिएकी थिइन् ।

तेस्रोलिङ्गीले आफ्नो पहिचानसहित जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट नागरिकता लिने उनी पहिलो व्यक्ति थिइन् । उनको हत्या भएको १८ औं दिनपछि हत्यामा संलग्न रहेका ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।-साभारः ईकान्तिपुर डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*