साहित्य सङ्गम मकवानपुरले ८ जना साहित्यकारलाई सम्मान गर्ने

बाइलाइन नेपाल
१८ माघ २०७८, मंगलवार १८:२६

हेटौंडा । मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य सङ्गम मकवानपुरले यस वर्ष ८ जना साहित्यकारलाई विभिन्न सम्मान र पुरस्कार प्रदान गर्ने भएको छ । सङ्गमको आज मङ्गलबार बसेको बैठकले साहित्यकारहरु सम्मान गर्ने निर्णय गरेको हो ।

सङ्गमका अध्यक्ष अनिता न्यौपानेको अध्यक्षतामा बसेको बैठकले संस्थाले प्रत्येक वर्ष प्रदान गर्दै आएको सम्मान तथा पुरस्कार साहित्यका विभिन्न विद्यामा योगदान पुर्याएका साहित्यकारलाई प्रदान गर्ने निर्णय गरेको छ ।

सङ्गमले वरिष्ठ हास्यव्याङ्ग्यकार भैरव अर्यालको स्मृतिमा स्थापना गरेको भैरव अर्याल स्मृति सम्मान यसवर्ष हरिकला उप्रेतीलाई प्रदान गर्ने निर्णय गरेको छ । भैरव अर्यालको परिवारले २ लाख ५० हजार रुपैयाँको अध्यक्षकोष स्थापना गरेको सम्मानको राशी २१ हजार १ सय ११ रुपैयाँ रहेको छ । यस्तै, साहित्य सङ्गम मकवानपुरले स्थापना गरेको मकवानपुर साहित्य श्रीबाट साहित्यकार सुवास खनाललाई प्रदान गर्ने निर्णय गरिएको छ । जसको राशी १५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।

यसैगरी सङ्गमले यसवर्ष भेषनाथ अधिकारी स्मृति पुरस्कार साहित्यकार मनोज भण्डारीलाई प्रदान गरिने भएको छ । साहित्यकार विशाल अधिकारी ( आशुतोष) ले बुबाको नाममा स्थापना गरेको यो पुरस्कारको राशी १५ हजार ५ सय ५५ रुपैयाँ रहेका छ । हाल अमेरिका निवासी मकवानपुरका बासिन्दा दीपक मुडभरीले मातापिताको नाममा स्थापना गरेको सुभद्रादेवी–मदन मुडभरी स्मृति काव्य पुरस्कार साहित्यकार दीपक गौतमलाई प्रदान गर्ने निर्णय गरिएको छ । जसको राशी १० हजार रहेको छ ।

यस्तै, शिक्षासेवी देवप्रसाद श्रेष्ठले आमाको नाममा स्थापना गरेको मङ्गलादेवी श्रेष्ठ स्मृति नारी पुरस्कार साहित्यकार रुकु कार्कीलाई प्रदान गरिने निर्णय भएको छ । जसको राशी ७ हजार ७ सय ७७ रुपैयाँ रहेको छ । यसैगरी हास्यव्याङ्ग्यकार आरसी रिजालले माताको नाममा स्थापना गरेको अणकुमारी स्मृति साहित्य पुरस्कार बालजागृति इङ्लिस बोर्डिङ स्कुलका सुविज्ञा सुवेदीलाई प्रदान गरिने भएको छ । जसको राशी ५ हजार रुपौयाँ रहेको छ । यो पुरस्कार ९–१२ कक्षामा अध्ययनरत छात्रालाई प्रदान गरिदै आएको छ ।

यसैगरी, शेषजङ्ग स्मृति कथा पुरस्कार हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत् उषाकिरण अधिकारीलाई प्रदान गरिने भएको छ । शिक्षासेवी डेडिजङ्ग शाहले छोराको स्मृतिमा स्थापना गरेको यो पुरस्कारको राशी ५ हजार रुपैयाँ रहेको छ । यो पुरस्कार ९–१२ कक्षामा अध्ययनरत् विद्यार्थी बीच कथा प्रतियोगिता गराई एक जनालाई प्रदान गरिदै आएको छ । यस्तै साहित्यसेवी मुक्तगोविन्द वैद्यले यसवर्ष बाट स्थापना गरेको मुक्क्ति–तारा साहित्य पुरस्कार समिक्षक घनश्याम घिमिरेलाई प्रदान गरिने भएको छ । जसको राशी १० हजार रुपैयाँ रहेको छ । यो पुरस्कार साहित्यका विभिन्न विधामा योगदान पुर्याएका तथा क्रियाशिल साहित्यकारलाई प्रदान गरिने जनाइएको छ ।

सार्वजनिक गरिएका सम्मान तथा पुरस्कार कोभिड–१९ को संक्रमण न्यूनिकरण भएपछि विशेष साहित्यिक कार्यक्रमको आयोजना गरी प्रदान गरिने सङ्गमकी अध्यक्ष न्यौपानेले जानकारी दिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*