पत्रकार महासंघको पेन्सन कोष र दुर्घटना बीमामा हेटौंडा उपमहानगरपालिको सहयोग

बाइलाइन नेपाल
१८ माघ २०७८, मंगलवार १३:४३

हेटौंडा । हेटौंडा उपमहानगरपालिका कार्यालयले पत्रकार महासंघ मकवानपुरलाई जेष्ठ पत्रकार पेन्सन कोष तथा दुर्घटना बीमा गरेर सहयोग गरेको छ । यसअघि पनि महासंघलाई सहयोग गर्दै आएको उपमहानगरपालिकाले यसपटक पेन्सन कोष र दुर्घटना बीमाका लागि सहयोग गरेको हो ।

पत्रकार महासंघ मकवानपुरले गत वर्षबाट सञ्चालनमा ल्याएको जेष्ठ पत्रकार पेन्सन कोषमा पाँच लाख र पत्रकारको दुर्घटना बीमाका लागि एक लाख २२ हजार २ सय ७० रुपैयाँ हेटौंडा उपमहानगरपालिकाले सहयोग गरेको छ । महासंघ मकवानपुरको पेन्सन कोष र पत्रकार दुर्घटना बीमाका लागि आर्थिक सहयोग गरिएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले बताए ।

गत आर्थिक वर्ष देखि पत्रकार महासंघले २० वर्ष काम गरेका र ६० वर्ष उमेर पुगेका जेष्ठ पत्रकारका लागि मासिक पेन्सन दिनका लागि सञ्चालनमा ल्याएको कोषमा थोरै भएपनि सहयोग पुगोस भनेर सहयोग हस्तान्तरण गरिएको मेयर महतले जानकारी दिए । कोष स्थापना गर्न उपमहानगरपाकिलाले १० लाख रुपैयाँ सहयोग गरेको थियो ।

नेपालमै पहिलो पटक पत्रकार महासंघ मकवानपुरले एक वर्ष अगाडि पेन्सन कोषको स्थापना गरेर मासिक ४ हजार रुपैयाँ जेष्ठ पत्रकार नवराज शर्मालाई पेन्सन दिदै आएको छ । चालु आर्थिक वर्षमा पनि उपमहानगरपालिकाले कोषका लागि पाँच लाख रुपैयाँ सहयोग गरेको पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले बताए । उनले प्राप्त भएको रकमको ब्याजबाट पेन्सन दिनुपर्ने भएकाले जेष्ठ पत्रकार थपिदै जाँदा अहिलेको रकमले नपुग्ने जानकारी दिए ।

हाल एक जना जेष्ठ पत्रकारलाई पेन्सन दिने गरेकोमा थप पाँच लाख रुपैयाँ रकमले थप जेष्ठ पत्रकारलाई पनि पेन्सन दिन सहयोग पुगेको पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष तथा पेन्सन कोषका संयोजक हरि हुमागाईँले बताए । आफ्नो नेतृत्वमा महासंघमा पेन्सन कोषको स्थापना गरिएको र यसलाई वृद्धि गर्दै लैजाने अभियानमा लागिएको संयोजक हुमागाईले जानकारी दिए ।

यसैगरी हेटौंडा उपमहानगरपालिकाले मकवानपुर जिल्लाका एक सय ६४ जना पत्रकारको पाँच लाख रुपैयाँका दरले दुर्घटना बीमा गरिदिएको छ । बीमा वापत तिर्नुपर्ने प्रिमियम रकम एक लाख २२ हजार २ सय ७० रुपैयाँ महासंघ मकवानपुरलाई चेक हस्तान्तरण गरिएको मेयरहरि बहादुर महतले बताए । गत वर्षदेखि उपमहानगरपालिकाले महासंघ मकवानपुरका सदस्यहरुका दुर्घटना बीमा गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*