मकवानपुरको चेपाङ बस्तीमा खोप अभियान सुरु

बाइलाइन नेपाल
८ माघ २०७८, शनिबार ०८:३७

मकवानपुरको चेपाङ बाहुल्य राक्सिराङ र कैलाश गाउँपालिकामा शुक्रबारदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको छ । अभियानको पहिलो दिनमै एक हजारभन्दा धेरैले खोप लगाएका छन् ।

राक्सिराङका ४ वडामा खटिएको स्वास्थ्यकर्मीको १० वटा टोलीले कुल ५ सय ८७ जनालाई खोप लगाएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विजय कापरीले बताए । उनका अनुसार हालसम्म गाउँपालिकाका ४० प्रतिशत स्थानीयले पहिलो मात्रा र २७ प्रतिशतले मात्र दोस्रो मात्रा खोप लगाएका छन् । स्थानीय खोप लगाउन स्वास्थ्यचौकीमा नआएकाले अहिले घरदैलो गर्दै खोप अभियान सञ्चालन गरिएको हो ।

यसैगरी, कैलाशका ८ स्थानमा ४ सय ५२ जनालाई खोप लगाइएको छ । जसमध्ये पहिलो मात्रा लगाउनेको संख्या २ सय ८९ र दोस्रो मात्रा लगाउनेको संख्या १ सय ६३ रहेको स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर महतोले बताए । अभियान एक साताभरि सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

‘घरघरमै गएर खोप लगाउने लक्ष्य लिएका छौं,’ राक्सिराङ अध्यक्ष राजकुमार मल्लले भने । माघ १५ सम्म खोप नलगाउने स्थानीयलाई कुनै पनि सेवासुविधा उपलब्ध नगराउने निर्णय दुवै पालिकाले गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*