काँग्रेस वाग्मती प्रदेश सभापतिमा मकवानपुरका बानियाँ र माइकल भिड्ने तयारी

बाइलाइन नेपाल
१२ मंसिर २०७८, आईतवार १७:५९

हेटौंडा । नेपाली कांग्रेसको वाग्मती प्रदेश सभापतिमा मकवानपुरका तीन जना नेताले दाबी गरेका छन् । संस्थापन समूहबाट ईन्द्र बानियाँ र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट माइकल रामचन्द्र अर्याल र रघुरमण न्यौपानले दाबी गरेका हुन् ।

१४ औं महाधिवेशन अन्तर्गत मंसिर १६–१७ गते हुने प्रदेश अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता पौडेल र अर्का नेता पूर्वमहामन्त्री कृष्ण सिटौला समूहबाट उम्मेदवारी घोषणा भइरहेको छ । वाग्मती प्रदेशको सभापतिमा दाबी गर्ने संस्थापन पक्षका एक्ला उम्मेदवार बानियाँ काँग्रेस मकवानपुरका सभापति तथा प्रदेश सांसद हुन् । यस्तै पौडेल समूहबाट सभापतिमा दाबी गर्ने माइकल पूर्व सभापति र न्यौपाने निवर्तमान सभापति हुन् ।

वरिष्ठ नेता पौडेल समूहबाट माइकल र न्यौपानेसहित पक्षबाट सात जनाले दावी गरेका छन् । प्रदेश अधिवेशनमा पौडेल पक्षबाट माइकल रामचन्द्र अर्याल, मधु आचार्य, जगदीश्वर नरसिंह केसी, रघुरमण न्यौपाने, रमेश धमला, राजुराज जोशी र रामचन्द्र खड्काले प्रदेश सभापतिमा दावी गरेका छन् । पौडेल समूहबाट एकजना उम्मेदवार छान्न छलफल भइरहेको स्रोतले जनाएको छ ।

पूर्वमहामन्त्री सिटौला समूहनिकट काठमाडौंका पूर्वसभापति भीमसेनदास प्रधानले उम्मेदवारी घोषणा गरिसकेका छन् । काठमाडौंमा प्रधान र संस्थापन समूहबीच अधिवेशनमा गठबन्धन भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*