राजेन्द्र पाण्डेको निर्णयले डोरमणि पौडेल मर्माहत !

बाइलाइन नेपाल
२९ कार्तिक २०७८, सोमबार १७:४६
Bagmati Province, Dormani Poudel

हेटौंडा । विद्युतीय बस खरिद र सुरुङमार्ग निर्माण प्रक्रिया रोक्ने निर्णय गलत भएको वाग्गमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् । सोमबार एक विज्ञप्ती जारी गर्दै पौडेलले वाग्मती प्रदेशको वर्तमान सरकारले गरेको विद्युतीय बस खरिद प्रक्रिया र सुरुङमार्ग निर्माण प्रक्रिया रोक्ने निर्णयप्रति आपत्ति जनाउँदै उक्त कार्य राष्ट्रविरोधी भएको आरोप लगाएका छन् ।

गठबन्धन सरकारको उक्त निर्णय देशलाई गरिब नै बनाइराख्ने सोच र व्यवहारबाट निर्देशित भएको आरोप समेत लगाएका छन् । पौडेलले इन्धन र मोटर पार्टसको खर्च कम गर्न नेकपा एमाले नेतृत्वको सरकारले सो योजना अघि बढाएको भएपनि वर्तमान गठबन्धनको सरकारले त्यसको विरुद्धमा निर्णय गरेर देशलाई विकासको बाटोमा जानबाट रोकेको बताए ।

पौडेलले सयौं किलोमिटरको दुरीलाई घटाएर इन्धन तथा मोटरपार्टस्मा खर्च हुने अरबौं रुपैयाँ बचाउँने, घण्टौंको यात्रा अवधि तथा दुर्घटनालाई समेत न्युनीकरण गरी देशको अर्थतन्त्रलाई मजबुत बनाउने प्रदेश सरकार स्थापनादेखिको सबैभन्दा महत्वको योजना भीमफेदी कुलेखानी सुरुङमार्ग निर्माण तथा विद्युतीय उर्जामार्फत सञ्चालन हुने सवारी खरिद प्रक्रियामा नवगठित सरकारले रोक लगाएको भन्ने खबरले मर्माहित र आक्रान्त बनाएको उल्लेख गर्नुभएको छ ।

“पेट्रोलीयम पदार्थको मूल्य वृद्धि हुँदै जाने तथा देशमै उत्पादन भएको विद्युत उपभोग गर्न नपाएर खेर जाने वर्तमान अवस्थामा कमिसनको खेलमा परेर विदेशबाट ल्याइने इन्धनबाट सञ्चालन हुने सवारीलाई प्रोत्साहन हुनेगरी विद्युतीय सवारी रोक लगाइनु आधुनिक नेपाली समाजप्रति भद्धा मजाक पनि हो । यस्ता विकास विरोधी निर्णयले देशलाई माया गर्ने तमाम नेपाली नागरिकलाई प्रहार गरेको छ” पौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तीमा “सुरुङमार्ग निर्माण पश्चात नागरिकको स्यावासी एमाले सरकारले पाउँछ र देश एमालेमय बन्छ भन्ने त्रास तथा विदेशी व्यापारीबाट आउने कमिसनको आस मिसिएको यस्ता राष्ट्रविरोधी निर्णयको तीब्र र सशक्त विरोध जनाउन म आमनागरिकसँग हार्दिक अपिल गर्दछु ।’

मुख्यमन्त्रीमा पौडेल रहदा विद्युतीय बस खरिद र सुरुङमार्ग निर्माण प्रक्रिया तत्कालका लागि रोक्ने निर्णय वर्तमान सरकारले गरेको छ । बस खरिद गर्नका लागि चार्जिङ स्टेशनलगायतका पूर्वाधार निर्माण नभएको र सुरुङमार्गका लागि संघीय सरकारको लगानीसहितका समस्या रहेको भन्दै निर्माण प्रक्रिया स्थगित गर्ने मुख्यमन्त्री राजेन्द्र पाण्डेले बताएका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*