अराजक समूहको हल्लामा सत्यता छैन्ः गोपी अधिकारी

बाइलाइन नेपाल
१३ कार्तिक २०७८, शनिबार १२:४०

हेटौंडा । नेपाली काँग्रेसका जिल्ला सदस्य गोपी अधिकारीले आफु पार्टी प्रति प्रतिवद्ध रहेको बताएका छन् । केही राजनीतिक अराजक समूहले केही दिन देखि आफ्नो बारेमा गलत राजनीतिक हल्ला फैलाएको भन्दै उनले आज प्रेस विज्ञप्ती जारी गर्दै हल्लामा सत्यता नरहेको बताएका छन् ।

काँग्रेस पार्टी छाड्न लागेको भन्दै केही समूहले षडयन्त्रमूलक ढंगबाट राजनीतिक चरित्रमाथि प्रहार गर्ने कोशिस गरेको भन्दै जिल्ला सदस्य अधिकारीले गलत प्रचारको पछि नलाग्न सबैलाई आग्रह गरेका छन् । उनले विज्ञप्तीमा भनेका छन्–‘केही अराजक समूहले केही दिन देखि मेरा विरुद्ध अफवाह फैलाउने काम गरिरहेको मैले थाहा पाएको छु । काँग्रेस पार्टीको नीति र सिद्धान्तमा अडिग हुन नसकेर अन्य पार्टीमा लागेका मकवानपुरगढी गाउँपालिका केहि राजनीतिक अराजकहरुले मेरो विरुद्धमा यसअघि र अहिलेसहित पटकपटक गलत सन्देश जाने हल्ला विभिन्न माध्यमबाट फैलाउँदै हिँडिरहेको हुँदा उक्त अराजक समूहको हल्लाको पछि नलाग्न र त्यसमा कुनै सत्यता नरहेको म यसै प्रेस विज्ञप्ती मार्फत् नेपाली काँग्रेस मकवानपुरको नेतृत्व, पार्टी मकवानपुरगढी गाउँपालिका नेतृत्व, क्रियाशिल सदस्य, आम कार्यकर्ता तथा शुभेच्छुकलाई जानकारी गराउँदछु ।’

‘नेपाली काँग्रेस प्रजातन्त्र र लोकतन्त्रप्रति प्रतिवद्ध पार्टी भएको सबैमा अवगत नै छ । म यस पार्टीको हित, उन्नती र विकासका लागि ६ दशकदेखि अनवरत रुपमा क्रियाशिल एक सिपाही हुँ । नेपाली काँग्रेसको नीति, विचार, सिद्धान्त र आस्थाप्रति अलिकति पनि विचलित नभई पार्टीलाई उचाईमा पु¥र्याउन हरेक मोर्चामा खटिदै आएको छु । भोलीका दिनमा पनि काँग्रेस पार्टीको विकास र संरक्षणमा पार्टीले दिएको जिम्मेवारी इमान्दारितापूर्वक पुरा गर्ने आँट, साहस र धैर्यता बोकेर हिँडिरहेको छु । तत्कालिन मकवानपुरगढी गाविसको काँग्रेस सभापति भएर दुई पटक नेतृत्व गर्दा पार्टीको उचाई कुन स्थानमा पुगेको थियो भन्ने कुरा मैले उल्लेख गरिरहनु पर्दैन् होला । पार्टीका तल्ला इकाईदेखि गाविस÷पालिका हुँदै अहिले जिल्ला सदस्यसम्म रहँदा पार्टीको नीति र सिद्धान्त विपरित कुनै पनि काम गरेको छैन् । पार्टीको माथिल्लो तहको निर्देशनमा नीति र सिद्धान्तलाई कार्यान्वयन गर्दै आइरहको छु,– विज्ञप्तीमा उल्लेख छ ।

उनले भनेका छन्–‘आफै नैतिक रुपमा पतन भएका अराजक समूहले मेरो नैतिकता तथा इमान्दारिता माथि औला उठाउनुको कुनै औचित्य नरहेको जानकारी गराउँदछु । साथै काँग्रेसको प्रजातान्त्रिक आस्थामा गोलवद्ध हुन आमसर्वसाधारणलाई यसै विज्ञप्तीमार्फत् आव्हान समेत गर्दछु । यसै अवसरमा हिन्दु नेपालीहरुको पर्व तिहार, नेपाल सम्वत तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*