माओवादी मकवानपुरबाट पहिलो मन्त्री बन्न सफल भइन कुमारी मोक्तान

बाइलाइन नेपाल
१२ कार्तिक २०७८, शुक्रबार २०:११

१६ वर्षको उमेरमा जनयुद्धमा होमिएकी नेकपा माओवादी केन्द्रकी नेतृ कुमारी मोक्तान बागमती प्रदेशको सामाजिक विकासमन्त्री बनेकी छन् । नेकपा माओवादी केन्द्रबाट मकवानपुर २ (क) मा प्रदेशसभा सदस्य निर्वाचित मोक्तान यसअघि दुईपटक सांसद भइसकेकी हुन् । उनी १३ हजार ८९ मतको फराकिलो अन्तरले प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन् ।

तत्कालिन नेकपा माओवादी शान्ति सम्झौतामार्फत संसदीय राजनीतिमा आएपछि २०६३ सालमा मोक्तान संसद सदस्य मनोनित भएकी हुन् । उनी २०६४ सालमा मकवानपुर ४ नम्बर निर्वाचन क्षेत्रबाट संविधानसभा सदस्य निर्वाचित भइन् । हाल नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रहेकी मोक्तान नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको उपनेता पनि हुन् ।

मोक्तान २०५६ सालमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको अध्यक्ष हुँदा हेटौंडाको बुद्ध चोकबाट पक्राउ परेकी थिइन् । एक वर्ष जेल जीवन बिताएकी उनी २०५८ सालमा तत्कालिन नेकपा माओवादीको जिल्ला जनसरकार प्रमुख, २०५९ सालमा जिल्ला सेक्रेटरी भएकी थिइन् । मोक्तान २०६४ सालमा मकवानपुर इन्चार्ज भएकी थिइन् ।

तत्कालिन नेकपा माओवादीले २०५२ सालमा जनयुद्ध सुरु गरेलगत्तै उनी विद्यालय शिक्षा छाडेर युद्धमा होमिएकी थिइन् । मोक्तान मकवानपुरकी जुझारु महिला नेतृ हुन् । हेटौंडा १३ पदमपोखरी स्थित ठुल्थलीमा जन्मिएकी उनी बुवा सानुकान्छा र आमा तीर्थमायाको जेठो सन्तान हुन् । ४२ वर्षीया मोक्तानको तीन दिदी बहिनी र दुई भाइ छन् । मोक्तान दश वर्षको हुँदा उनको बुवाको निधन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*