चौतर्फी विवादपछि थाहा नगर शिक्षा शाखाले सच्यायो सूचना

राजकुमार केसी
२ आश्विन २०७८, शनिबार ०७:२९

थाहा नगर । थाहा नगरपालिका शिक्षा शाखाले भदौ २९ गते एक सूचना प्रकाशन गर्‍यो । नगर शिक्षा अधिकारी शोभाकर रेग्मीले हस्ताक्षर गरेको सूचनामा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल थाहा नगर कमिटीको पत्र अनुसार थाहा नगरपालिकाका निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत बिद्यार्थीहरु नयाँ बिद्यालयमा भर्ना गर्दा स्थानान्तरण प्रमाणपत्र बिना नै भर्ना गर्ने गरेको र ती बालबालिकाले पुरानो बिद्यालयमा अध्ययन रहँदाको बक्यौता बाँकी राखी अन्य विद्यालयमा गएकोले समस्या भएको हुँदा स्थानान्तरण प्रमाणपत्र बिना भर्ना नगर्न निर्देशन दिईएको थियो ।

उक्त सूचनाका सन्दर्भमा नागरिक समाजबाट चर्को बिरोध आएपछि नगरपालिकाले उक्त सुचनालाई असोज १ गते शुक्रबार सच्याएको छ ।नगर शिक्षा अधिकारी रेग्मीले एक विद्यालयमा अध्ययन गरिरहेको विद्यार्थी अर्को बिद्यालयमा अध्ययन गर्न जाँदा स्थानान्तरण प्रमाणपत्र अनिवार्य भएको र निजि तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल थाहा नगर कमिटीको पत्र अनुसारको निर्देशन दिएको बताए ।

शिक्षा शाखाले शुक्रबार अर्को सूचना जारी गरि थाहा नगरपालिका शिक्षा शाखाको भदौ २९ को सूचनाको बारेमा हाल सामाजिक सञ्जालमा भइरहेका सबैखाले टिक्काटिप्पणीलाई सुझाबका रुपमा ग्रहण गर्दै प्रस्तुत सूचनामा संस्थागत विद्यालयहरुको संस्थाबाट प्राप्त अनुरोध पत्रको केहि बुँदा ध्यानाकर्षण स्वरुप र बाँकी विषय विद्यार्थी भर्ना सम्बन्धी हाल प्रचलित नियम कानुनको ब्याख्या गरिएको र उक्त सूचना नियोजितरुपमा काखा पाखा, आर्थिक विषय, राजनीतिक अभिप्राय बाट प्रेषित होइन विद्यालयले बिद्यार्थी भर्ना गर्दा अपनाउन सकिने अन्तिम बैकल्पिक श्रेणी मापन विधिलाई यसले पूर्णरुपमा निस्तेज गरेको छैन। यस विषयमा नगर शिक्षा समिति, बिद्यालय ब्यवस्थापन समिति वअध्यक्ष, प्रधानाध्यापक, सरोकारवाला सबैको राय सुझाबका साथ अगाडि बढ्न सकिने हुनाले संयमित हुन सबैमा अनुरोध छ भनिएको छ ।

बिद्यार्थीको अध्ययन गर्न पाउने नैसर्गिक हक र माध्यमिक तहसम्म अध्ययन निशुल्क हुने भन्ने नेपालको संबिधान बिपरित शिक्षा शाखाले सूचना प्रकाशन गरेकोमा चर्को बिरोध भएको थियो ।

उक्त सूचनाको सन्दर्भमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी संगठन (क्रान्तिकारी) थाहा नगर कमिटि र वाइसीएल थाहानगर कमिटिले विज्ञप्ति प्रकाशन सहित नगरपालिकाम ज्ञापनपत्र बुझाएर बिरोध गरेको थियो । त्यस्तै राप्रपा नेपाल थाहा नगर कमिटी, युवा संघ नेपाल, नेपाली काङ्ग्रेस थाहा ४ र स्वतन्त्र युवा संजालले सूचनाको विरुद्ध नगरपालिकामै गएर नगरप्रमुख र शिक्षा शाखा प्रमुखलाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।

एक विद्यालयबाट अर्को बिद्यालयमा विद्यार्थी भर्ना गर्न स्थानान्तरण प्रमाणपत्र हुनुपर्ने विषय ठिक भए पनि नगरपालिकाले बक्यौता उय्हाउने हिसाबले सूचना प्रकाशन गर्नु नीतिगत भ्रष्टाचार भएको जनता समाजबादी पार्टीका बागमती प्रदेश कमिटि सदस्य इन्द्रबहादुर श्रेष्ठले बताए । श्रेष्ठले उक्त सूचना कसैको दबाब, प्रभावमा परेर प्रकाशन गरिएको बताए ।

यसै सन्दर्भमा एकीकृत अखिल नेपाल शिक्षक संगठन थाहा नगर कमिटी अध्यक्ष तथा नेपाल शिक्षक महासंघ थानगर समिति सदस्य मनोज रायमाझीले स्थानान्तरण प्रमाणपत्र बिना विद्यार्थी भर्ना गर्नु सबै बिद्यालयको समस्या भएको र प्याब्सन थाहानगर कमिटीको अनुरोध पत्रलाई संबोधन गर्ने किसिमको सूचना भएकोले अन्यथा नबुझ्न सबैमा अनुरोध गरे ।

स्थानान्तरण प्रमाणपत्र बिना विद्यार्थी भर्ना गर्दा, भर्ना हुँदा बिद्यार्थीको तथ्यांक दोहोरो पर्ने भएकोले प्रायः विद्यालयमा यस्तो समस्या भएको कारणले पनि स्थानान्तरण प्रमाणपत्र बिना विद्यार्थी भर्ना नगर्नका लागि सहजीकरण गरिदिन नगरपालिकामा अनुरोध गरेकोमा उक्त अनुरोधलाई नगरपालिकाले सूचना मार्फत् सम्बोधन गरेको प्यब्सन थाहानगर कमिटि सचिब संगम कार्कीले बताए । कार्कीले सूचनाको शब्द चयनमा केहि समस्या भएको जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*